कालचिनीः अखिल भारतीय महायान बौद्ध म्हाणिपा संघको अर्धवार्षिक सभा संस्थापक अध्यक्ष परम पुज्यनीय ख्येन रिन्पोछेको अध्यक्षतामा मुख्य कार्यालय जयगाउँमा सम्पन्न भएको जानकारी संघका महासचिव आचार्य सांग्ये छ्योफेलले दिएका छन्।
अष्टमंगल अनि क्याब्डो पाठ गरि आरम्भ भएको सभामा सभाध्यक्षद्वारा केन्द्रिय समिति अनि बिभिन्न शाखाहरूको सदस्यहरु लाई स्वागत जनाईएको थियो। महासचिव आचार्य सांग्ये छ्योफेलले सभाको विषय वस्तुको जानकारी, संघको गतिविधि अनि आउँदो कार्यक्रम दिनाङ्क २५ अक्टोबर गारोपाडा शाखामा मणि छोगा पूजा हुने, वार्षिक ञ्युङने अनि अधिवेशन दिनांक ७ देखि १० दिसम्बर सम्म सिक्किम राज्यको राभाङलामा हुने अनि १३औ मणि दुङछुर मोन्लम ३१ जनवरी देखि ४ फरवरी २०२४ सम्म बोधगयामा हुने जानकारी गराएका छन्।
उक्त कार्यक्रमहरूमा सबै लाई निमन्त्रणा गरिएको छ। सभामा विगत ११ अनि १२ अगस्त लद्दाखमा सम्पन्न भएको कार्यक्रममा संघको प्रतिनिधित्व गर्ने सहसचिव डा. सुदास लामाले त्यस कार्यक्रमको जानकारी साझा गरेको थियो। क्रमशै- धिराज योन्जनले मणि छोगा, डुब्ला डोन्ढुब लामाले वार्षिक ञ्युङने – अधिवेशन अनि ख्येन रिन्पोछेद्वारा मणि दुङछुर मोन्लम आयोजक समितिको गठन र विभागहरूको अभिभारा सुम्पिएको थियो। अर्जुन कुमार लामाले सञ्चालन गरेको सभामा संघको विभिन्न शाखा, ब्लक र जिल्ला स्तरीय प्रतिनिधिहरूले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने असम राज्यको प्रतिनिधित्व गर्दै मन बहादुर मोक्तान र सन्तोष पाख्रिन, मणिपुर राज्यको प्रतिनिधित्व गर्दै शंकर तामाङ,कालचिनी ब्लकको प्रतिनिधित्व गर्दै जंगबीर बम्जन, दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै लाक्पा गोलेले आ आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा प्रवीण लामाले अल्पसंख्यक विभागबाट के कस्ता साहुलियत उपलब्ध छ त्यस बारे विस्तृत जानकारी गराएका थिए। उक्त सभामा संघको मुख पत्रिका “करुणा” लाई सम्पादकको निम्ति लाटपञ्चर निवासी सन्तबीर लामालाई सुम्पिएको बताएको छ। सभाको अन्त्यमा सभाध्यक्षद्वारा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा म्हाणीपा संघको कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गराउने सबै सदस्यहरूलाई आशीर्वाद सहित धन्यवाद ज्ञापन प्रस्तुत गरिएको थियो। आज सम्पन्न अर्धवार्षिक सभामा विगत केही दिनअघि मात्र निट परीक्षामा उत्तिर्ण भएकी तीनजना नानीहरू क्रमैले निधि लामा बुखिमबारी, सोईनाम लामा मेचपाड़ा नं ८ अनि रिता लामालाई सम्बर्द्धना गर्दै परम पुज्यनीय ख्येन रिन्पोछेको बाहुलीबाट प्रशस्ति पत्र चड़ाएको केन्द्रीय महासचिव आचार्य सांग्ये छ्योफेलले जानकारी दिएका छन्।