गान्तोकः भारतीय जनता पार्टी, सिक्किम प्रदेश अनुसूचित जाति मोर्चा (एससी मोर्चा) को नवगठित प्रदेश कार्यसमितिको समन्वय सभा आज सिङ्तामस्थित प्रदेश कार्यालयमा पार्टी महामन्त्री भरत दुलालको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा मोर्चा अध्यक्ष विरेन्द्र पौराली, मोर्चा प्रभारी देवीमाया बराइली, महासचिव रमेश खातीलगायत कमिटीका पदाधिकारीगणको विशेष उपस्थिति रहेको थियो। आजको बैठकमा मोर्चाको सांगठनिक विस्तारसम्बन्धी व्यापक चर्चा-परिचर्चा गर्दै आगामी कार्यक्रम तथा यसबारे रणनीतिहरू तय गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठकलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष विरेन्द्र पौरालीले मोर्चाको सांगठनिक विस्तार गर्न सबै जिल्ला तथा मण्डलहरूको भ्रमण गर्ने तथा संगठनलाई मजबुत बनाउनुपर्ने कुरामा जोर दिए। उनले सबै उपस्थित पदाधिकारीहरूलाई अनुसूचित जातिको हितका मुद्दाहरूमा काम गर्ने साथै अधिक भन्दा अधिक मानिसहरूलाई संगठनमा जोड्न आह्वान गरे। यसै गरी पार्टी महामन्त्री भरत दुलालले आफ्नो सम्बोधनमा केन्द्रको मोदी सरकारले अनुसूचित जातिको कल्याणहेतु विभिन्न कल्याणकारी योजनाहरू, स्कलरशीपहरू साथै व्यवसायीहरूलाई पनि धेरै सब्सिडीयुक्त लोनहरू प्रदान गरिरहेको बताए। मोर्चा संगठनले यस्ता सबै योजनाहरूको अध्ययन गरेर उचित लाभार्थीहरूसम्म पुऱ्याउने दिशामा काम गर्न उनले आह्वान गरे। उनले मोर्चाको सांगठनिक गतिविधिलाई टेवा दिन पार्टीको प्रदेश कमिटी सदैव तयार रहेको भरोसा दिलाउँदै आफ्नो कार्यक्रमलाई प्रभावकारी ढंगमा अघि बढ़ाउन आग्रह गरे। आजको बैठकमा नयाँ सदस्यहरूलाई पनि स्वागत गरियो जसमा सोरेङबाट हर्कबहादुर शंकर, बरदाङ, पश्चिम पाण्डामबाट डीबी सेवा, अनि टिम्बुरबुङबाट सुमन रनपाल सामेल छन्। उनीहरूलाई अनुसूचित जाति मोर्चाको संगठनमा सामेल गराएर पार्टीको सदस्यता प्रदान गरियो।