गान्तोक: एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशा निर्देशनमा गठित एसकेएम पार्टी अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठ २०२३ को पहिलो सभा आज राजधानीस्थित जनता भवनमा सम्पन्न भयो।
गान्तोक जिल्ला अन्तर्गत आठ वटा समष्टिका अवकाशप्राप्त सरकारी कर्मचारीहरूलाई लिएर आयोजित यस पहिलो सभामा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार टीएन ढकाल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
सभामा मुख्यमन्त्रीका सल्लाहकार एसडी काल्योन, सीएल डेञ्जोङपा र एमपी सुब्बा, संघका उपाध्याक्ष प्रभारी तथा तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुंगेलको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा 85 जना अवकाशप्राप्त कर्मचारीहरू मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार टीएन ढकालको उपस्थितिमा एसकेएम पार्टीमा सामेल भए। पार्टीमा सामेल भएकाहरूलाई उनले पार्टीको झण्डा अनि पुस्तक प्रदान गर्दै पार्टीमा स्वागत जनाए।
सभालाई सम्बोधन गर्दै विधायक तथा संघका उपाध्याक्ष प्रभारी जीटी ढुंगेलले मुख्यमन्त्रीको दिशा निर्देशनमा आयोजित यो सभा एकताको संकेत हो भन्दै अझै सदस्यहरूको संख्या बढेर जाने विश्वास व्यक्त गरे। अवकाशप्राप्त सरकारी कर्मचारीहरूले कुनै पनि समस्या मुख्यमन्त्री समक्ष पुऱ्याउन परे क्षेत्र विधायक मार्फत लगिरहनु नपर्ने र संघकै मार्फत मुख्यमन्त्री समक्ष पुऱ्याउन सकिने सभामा अवगत गराए।
यसरी नै कादो छिरिङ भोटियाले आगामी ७ सेप्टेम्बरको दिन आरिथाङमा संघको कार्यालय स्थापना हुने सभामा जानकारी गराउँदै अब उसो संघको सबै काम सोही कार्यालयबाटै हुने पनि अवगत गराए।