गान्तोक: आईटीबीपीको १३औं बटालियनको पहलमा लिमदुम बस्तमीमा अति हर्सोल्लाहसको साथमा ३६औं राईजिङ डे पालन गरियो। यस अवसरमा आइटीबीपीका कमाण्डेन्ट समर बहादुर सिंहले सम्पूर्ण यूनिटका जवानहरूलाई हार्दिक बधाई साथै शुभकामना दिए। आइटीबीपीको स्थापना २४ अक्टोबर १९६२ मा भएको थियो। भारत र चीनबीचको युद्धपछि सीमानाको सुरक्षालाई लिएर यसको स्थापना गरिएको हो। यसरी नै आइटीबीपीको १३ बटालियनको स्थापना १ सेप्टेम्बर १९८७ मा हिमाचल प्रदेशको नहानमा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसको स्थापना पछि अहिलेसम्म आइटीबीपीले धेरै महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको छ। पञ्जाब, जम्मु-कश्मिर जस्तो आतंकवादी गतिविधि भएको स्थानमा आइटीबीपीले आफ्नो कर्तव्य इमान्दारपूर्वक निर्वाह गर्दै आइरहेको बताइएको छ। यसरी नै यसले चुनाउको समयमा सीमावर्ती क्षेत्रमा शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न गर्नमा पनि अंहम भूमिका निर्वाह गरेको जानकारी गराएको छ।