गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा आज प्रि- शिक्षक दिवस- भव्यरूपमा पालन गरियो। २५ अप्पर तादोङ निर्वाचन क्षेत्रको पहलमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा अवकाशप्राप्त शिक्षिका दिल कुमारी प्रधान रहेकी थिइन् भने विशिष्ट अतिथिमा क्षेत्र विधायक जीटी ढुङ्गेल र आरती गौतम रहेका थिए। आजको यस कार्यक्रममा एकसय भन्दा अधिक अवकाशप्राप्त शिक्षकवर्गलाई सम्मान जनाइयो। उल्लेखनीय छ, क्षेत्र विधायक ढुङ्गेलको पहलमा गत वर्षदेखि तादोङ निर्वाचन क्षेत्रमा शिक्षक दिवस मनाउने कार्य शुरू गरिएको हो। शिक्षकहरूको शिक्षा र समाजप्रतिको योगदानको कदर गर्दै गत वर्षदेखि पूर्व शिक्षकवर्गलाई सम्मान जनाउने पहल गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि दिल कुमारी प्रधानले भारत देशमा प्रतिवर्ष ५ सेप्टेम्बरको दिन देशव्यापीरूपमा शिक्षक दिवस पालन गरिने प्रथा यथावत रहिआएको बताइन्। विशेष गरेर डा. सर्वपल्ली राधा कृष्णणको जन्म दिवसलाई शिक्षक दिवसकोरूपमा पालन गर्ने परम्परा रहेको छ। यसरी पूर्व शिक्षकवर्गको योगदानको कदर गर्दै प्रति वर्ष अवकाशप्राप्त शिक्षकवर्गलाई सम्मान जनाउने कार्य शुरू गरेकोमा उनले विधायक ढुङ्गेलप्रति आभार प्रकट गरेकी छन्। वर्तमान सरकारले सबै नागरिकहरूलाई सबै प्रकारको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ भने क्षेत्र विधायकले यस निर्वाचन क्षेत्रमा विभिन्न विकासको कामहरू गरेर उदाहरण प्रस्तुत गरेको पनि उनले अवगत गराइन्। यसै क्रममा विधायक ढुङ्गेलले आफ्नो सम्बोधनमा शिक्षकहरूको कारण आज आफू पनि यस स्थानमा आइपुगेको बताए। उनले जानकारी गराए अनुसार विदेशमा शिक्षकवर्गलाई भारतमा भन्दा धेरै महत्व र सम्मान दिने गरेको छ। यस कार्यक्रमलाई आगामी दिनमा अझ भव्यरूपमा आयोजना गर्ने सोंच बनाएको उनले जानकारी गराए। आज आमन्त्रित गरिएका सबै शिक्षकवर्गहरू उपस्थिति भएर कार्यक्रमलाई सफल तुल्याएकोमा उनले धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्।









