सिलगढ़ी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) क्षेत्रका स्थायी शिक्षकहरू एउटै मञ्चमा सङ्गठित बनेका छन्। लामो समयसम्म स्कूलमा भोलिन्टियर गरेर समय-समयमा समूहगत नियुक्ति पाएका विभिन्न समूहका शिक्षकहरूलाई ‘अवैधानिक नियुक्ति’को आरोप लगाएर उच्च न्यायालयमा मुद्दा दाखिला भएपछि पहाड़भरिका स्थायी शिक्षकहरू संगठित बनेर एकजुटताका साथ कानुनी मुद्दा लड्ने निश्चय गरेको देखिएको छ। आज सिलगढ़ी नजिक सुकनामा जीटीए क्षेत्रका शिक्षकहरू भेला भएर यस्तो निर्णय लिएका हुन्। जीटीएका उप-कार्यपाल तथा शिक्षा विभागीय सभासद् सञ्चवीर सुब्बाको संयोजकत्वमा आज बसेको सभामा शिक्षकहरूको राम्रो एकजुटता देखियो। पहाड़का प्रायः विद्यालयका शिक्षक-शिक्षिकाहरूको बाक्लो सङ्ख्यामा उपस्थिति रहेको उक्त सभामा जीटीए क्षेत्रका शिक्षकहरूको नियुक्ति सम्बन्धी कोलकाता उच्च न्यायालयमा दर्ता भएको मुद्दाहरूमाथि व्यापक रूपमा चर्चा भएको छ।
शिक्षक जनार्जन शर्माद्वारा सञ्चालित आजको सभाको मञ्चबाट सभा संयोजक सञ्चवीर सुब्बाले भने, “पहाड़को शिक्षा व्यवस्थालाई अस्थिर बनाउने कुचेष्टा गरिँदैछ। हामी शिक्षक-शिक्षिकाले पहाड़को शैक्षिक व्यवस्थालाई सुदृढ़ बनाइराख्न आफ्नो भविष्यको पनि सुरक्षा गर्ने समय आइपरेको छ। पहाड़को शिक्षा व्यवस्थामाथि आइपरेको प्रश्नचिन्ह र संकटलाई पार लगाउन सम्पूर्ण शिक्षक-शिक्षिकाहरू एक भएर आजैदेखि संघर्षमा उत्रिनपर्छ।” सुब्बाले कोलकाता उच्च न्यायालयमा विचाराधीन मुद्दाहरूको प्रसङ्गमा व्यवस्था र अवस्थाले सिर्जना गरेको सङ्कटलाई शिक्षक- शिक्षिकाहरूले झेल्न परिरहेको उल्लेख गर्दै अब दर्बिलो र एक भएर सङ्घर्ष गर्नु रहर नभएर बाध्यता भएको बताए। कानुनी, कर्मथलोमा आन्दोलन, सड़क आन्दोलनदेखि सबै प्रकारको संघर्षको मोर्चामा अब खुलेर अघि आउनुपर्ने उनले शिक्षकहरूलाई आह्वान गरे। उनले अझ भने,”अदालती मामिलालाई अदालतमार्फत नै समाधान गरिनुपर्छ तर विचाराधीन मुद्दा विषयमा सामाजिक सञ्जालमा अनेकथरिका कुप्रचार र नकारात्मक कुराहरू भाइरल गराएर शिक्षकहरूलाई बदनाम गराउनेहरू विरुद्ध अब सञ्चार मोर्चामा पनि डटेर जबाब दिनुपुर्छ।” पीड़ित शिक्षक -शिक्षिकाहरूले सबै माध्यमबाट आफ्नो सुरक्षा र पहाड़को शैक्षिक व्यवस्थाको निम्ति जहाँ-जहाँबाट आहत र लाञ्छित बनाउने कार्य हुँदैछ त्यहीँ त्यहीँबाट एक भएर सङ्घर्ष गर्नुपर्ने उनले आह्वान गरे। मानसिक तनाव र लाञ्छना बोकेर शिक्षक-शिक्षिकाहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने पनि उनले बताए। सभालाई शिक्षकगण जीतेन्द्र खवास, कवीन्द्र शर्मा र चन्द्र भण्डारीले सम्बोधन गर्दै सबै शिक्षकहरू एक भएर आफ्नो भविष्यको निम्ति संघर्ष गर्नपर्ने दिन आएको कुरामा जोड़ दिए। शिक्षक- शिक्षिकाहरूको भविष्य मात्र नभएर पहाड़को शैक्षिक व्यवस्थामाथि नै प्रश्नचिन्ह र संकट आइपरेको बताउँदै वक्ताहरूले सबै एक भएर सङ्घर्षमा उत्रिने प्रतिबद्धता पनि जाहेर गरे। अर्का वक्ता शिक्षक केशवराज पोखरेलले शिक्षक-शिक्षिकाहरूलाई सम्बोधन गर्ने क्रममा उच्च न्यायालयमा चलिरहेको मामिला शिक्षक-शिक्षिकाहरूको सुरक्षासँग मात्रै जोड़िएको मामिला नरहेर पहाड़को शिक्षा व्यवस्थासँग नङ र मासु भएर जोड़िएको मुद्दा भएको बताए। “हामी असक्षम छैनौँ। लामो संघर्ष गरेर हामीले नियुक्ति पाएका हौँ। यसको सुरक्षाको निम्ति जुनसुकै स्तरबाट पनि अगाड़ि बढ्न परोस् तर पछाड़ि हट्दैनौँ”, उनले भने। पोखरेलले अघि भने, “हामी आफ्नो अधिकार र सुरक्षाको निम्ति सड़कमा उत्रिन तयार छौँ। उच्च न्यायालयमा विचाराधीन मामिलालाई सामाजिक सञ्जालमा शिक्षक-शिक्षिकाहरूको मानहानि हुनेगरी भाइरल गराउनुले हामीविरुद्ध ठूलै षड़यन्त्र भइरहेको छ भन्ने बुझ्नुपर्छ। लहरा तान्दा पहरा गर्जन्छ। भोलि पहाड़को शिक्षा व्यवस्था र सामाजिक व्यवस्था लथालिङ्ग र अस्तव्यस्त भयो भने त्यसको जिम्मा पनि उनीहरूले लिनुपर्छ। हामीले धेरै सह्यौँ। अब हामी यसप्रकारको लाञ्छना सहनेछैनौँ।” हरेक मोर्चामा लड़ाइँ गर्न अब तयार रहनुपर्ने उनले शिक्षकहरूलाई आह्वान गरे। उनले न्यायालयमा भइरहेका मुद्दाका विषयमा पनि प्रकाश पारे। पोखरेलले भने, “हामी जाति र समाजको हितको लागि मरिमेट्ने शिक्षित जमात हौँ। आफ्नो सुरक्षा कसरी गर्नपर्छ त्यो पनि जान्दछौँ।” आजको सभाबाट पहाड़का लगभग सबै शिक्षकहरू एउटै मञ्चमा आएर एकताबद्ध भएर सङ्घर्ष गर्ने प्रक्रियाको थालनी भएको पनि देखिएको छ।










