राष्ट्रिय कराँते छनौट प्रतियोगितामा दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै मार्शल आर्ट र फिटनेस अकादमी खरसाङका प्रशिक्षार्थी र खेलाड़ीहरू कलकत्ता प्रस्थान

IMG-20230902-WA0244.jpg

खरसाङ: पश्चिम बंगालको कराँते संघद्वारा आयोजित आधिकारिक राष्ट्रिय कराँते छनौट प्रतियोगितामा दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रशिक्षक सेन्सी सन्दीप प्रधानको साथमा मार्शल आर्ट र फिटनेस अकादमी खरसाङका प्रशिक्षार्थी खेलाड़ीहरूको टोली आज कलकत्ता प्रस्थान गरेका छन्। ३ सेप्टेम्बरको दिन कलकत्तामा खेलाड़ीहरूको चयन प्रक्रिया सम्पन्न हुनेछ। छनौट भएका खेलाड़ीहरूले २१ देखि २३ सेप्टेम्बरमा उत्तराखण्डको देहरादूनमा सम्पन्न हुने राष्ट्रिय कराँते च्याम्पियनशीपमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्दै भाग लिनेछन्‌। देहरादूनमा सम्पन्न हुने राष्ट्रिय च्याम्पियनशीप कराँते इण्डिया संगठनले आयोजना गर्नेछ। यो संगठन विश्व कराँते महासंघद्वारा स्वीकृत संगठन हो। यस टोलीको प्रतिनिधित्व गरिरहेका कराँते प्रशिक्षक तथा मार्शल आर्ट अनि फिटनेस अकादमीका निर्देशक सन्दीप प्रधानले दिएका जानकारी अनुसार छनौट प्रतियोगितामा अंशग्रहण गरेका खेलाड़ीहरूको उमेर समूह १४-१५ वर्ष जुनियर
अनि १६-१७ वर्ष केटा र केटीहरूको रहेको छ। दार्जीलिङ जिल्ला आधिकारिक कराँते प्रशिक्षक सेन्सीका सन्दीप प्रधानले छनोट प्रतियोगितामा अंशग्रहण गर्न गएका प्रशिक्षार्थीहरूबाट आफूले सकारात्मक अपेक्षा राखेको बताएका छन्‌। तिनले भनेका छन्‌, यस छनोट प्रतियोगितामा यहाँका कराँते प्रशिक्षार्थी अथवा खेलाड़ीहरूले अंशग्रहण गर्न पाउनु महत्वपूर्ण कुरो हो।
छनौट प्रतियोगितामा असल प्रदर्शन गरेर यी प्रशिक्षार्थी र खेलाड़ीहरूले गोर्खा र दार्जीलिङका जनतालाई गौरवान्वित बनाएर फर्कने छन्‌ भन्ने आफूलाई विश्वास लागेको तिनले बताएका छन्‌। स्मरण गराइन्छ पहाड़मा कराँते एउटा
प्रचलित खेल हो। यो खेलमा पहाड़का धेरै खेलाड़ीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्‌। पहाड़का विभिन्न प्रशिक्षण केन्द्र अनि विभिन्न सिहान र सेन्सीहरूबाट करातेको प्रशिक्षण प्राप्त गरिरहेका खेलाड़ीहरूले राज्य स्तरीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा अंशग्रहण गरिसकेका छन्‌। यसरी अंशग्रहण गर्न गएका खेलाड़ीहरूमध्ये कतिपयले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर फर्किएका छन्‌। यसमध्ये खरसाङको मार्शल आर्ट अनि फिटनेस अकादमीमा खेलाड़ीहरू पनि रहेका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement