खरसाङ: रोटरी क्लब खरसाङले आज वृक्ष रोपणको कार्यक्रम सम्पन्न गरेको छ। क्लबका प्रतिनिधि अनि सदस्यहरूले खरसाङको सन्त मेरिजको सन्त जोहन वर्चम्यान्स चर्च परिसरमा वृक्ष रोपणक कार्य गरेका छन्। वृक्ष रोपणकको निम्ति सन्त मेरिज हिलको युवा संगठन आईसीवाईएमका सदस्यहरूले क्लबका प्रतिनिधि अनि सदस्यहरूलाई सहयोग गरेका थिए। रोटरी क्लब खरसाङकी पूर्व अध्यक्षा इन्दिरा थापा गुरुङले दिएकी जानकारी अनुसार आज उक्त क्षेत्रमा जम्मा २ सय २३ वटा विभिन्न प्रजातिका रुखका विरुवाहरू रोपिएको छ। रुखका विरुवाहरू धुप्पी, पिपली, पैयुँ, गुराँस, क्यामुना, सिन्कौली, उत्तिस आदिको रहेको छ। वृक्ष रोपणको कार्यक्रम सबैभन्दा वरिष्ठ महिला पुनम गुरुङको बाहुलीबाट आरम्भ गरिएको थियो भने सबै भन्दा कनिष्ट बालिका स्तुति गुरुङले पनि अंशग्रहण गरेकी थिइन्।

कार्यक्रममा क्लबका अध्यक्ष विनय जैन, सचिव समीम अनवर अलीले चर्चका पाद्री कनरज लेप्चा, संयोजक राजु गुरुङ अनि आईसीवाईएमका सदस्यहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। स्मरण गराइन्छ रोटरी क्लबको यस समय अर्को एउटा कार्यक्रम आँखा जाँच शिविर चलिरहेको छ। गत बिहीवार क्लबले गोथल्स मेमोरियल स्कूलका विद्यार्थीहरूको निम्ति आँखा जाँच शिविरको आयोजना गरेको थियो भने आगामी १५ सेप्टेम्बरको दिन खरसाङको स्कट्स मिशन कन्या विद्यालयका विद्यार्थीहरूको निम्ति आँखा जाँच शिविरको आयोजना गर्ने कार्यक्रम रहेको छ।