हाम्रो नाटक, कला, साहित्य र भाषाको संरक्षण हुन आवश्यक छ: राजु प्रधान हिमांशु
खरसाङ: जागृति परिवार खरसाङको स्वर्ण जयन्ती समारोह अन्तर्गत सम्मान एंव सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। २९ जुलाई सन् १९७३ सालमा स्थापना भएको जागृति परिवारको ५० वर्ष पूरा भएको छ। नेपाली नाटक मञ्चनको क्षेत्रमा उल्लेखनीय योगदान दिने जागृति परिवार खरसाङले स्वर्ण जयन्ती समारोह गोर्खा जनपुस्तकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा परिवारकै सभापति खेमराज राईको अध्यक्षता र प्रख्यात नाटककार एंव वरिष्ठ साहित्यकार राजु प्रधान हिमांशुको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। गोमा सुब्बा, सविता गजमेर र देविका मंग्राती राईले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण जागृति परिवारको सचिव राजेन्द्रप्रसाद थापाले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वरिष्ठ नाटककार पी अर्जुन, जागृति परिवारको संस्थापक एंव वरिष्ठ साहित्यकार पूर्ण गुरुङ निरुपम, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङ, भाइस चेयरम्यान सुवास प्रधान, जीटीएका सभासद श्याम शेर्पा, समाजसेवी टीटी लामा, पण्डित तुलसी अधिकारी, मोहन गुरुङ अादि उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत नृत्य जागृति परिवारका नानीहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि एंव विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा जागृति परिवारको संस्थापकहरू र सदस्यगण साथै मतिगढा घटनाको दिंवगत नाबालिगको श्रध्दाञ्जलीमा दुई मिनटको मौन धारण गरिएको थियो। कार्यक्रममा कृष्ण शर्मा, दिपुञ्ज लामा, बिमल गुरुङ आदिले गीत प्रस्तुत गरेका थिए भने अरूणा छेत्री सुन्दासको निर्देशनमा नानीहरूले गुरूङ नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा जागृति परिवारको पचास वर्षदेखि आजीवन सदस्यता लिएका दुईजना वरिष्ठ सदस्यहरू क्रमैले पूर्ण गुरुङ निरुपम र वर्तमान सभापति खेमराज राईलाई स्वर्ण श्री सम्मानले सम्मानित गरिएको छ। त्यसरी नै पच्चीस वर्ष पुगेका आजीवन सदस्यहरू र पच्चीस वर्ष पुगेका साधारण सदस्यहरूलाई पनि रजत श्री सदस्यद्वारा सम्मानित गरिएको छ। कार्यक्रममा वरिष्ठ साहित्यकार, अब्बल नाटककार र निर्देशक एंव कवि पी अर्जुनलाई जागृति परिवारको पक्षबाट सम्मान गरिएको छ। उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर साथै शल ओढाएर अनि सम्बर्ध्दना पत्रद्वारा सम्मानित गरिएको छ। त्यसरी नै जागृति परिवारको संस्थापक पूर्ण गुरुङ निरुपमलाई यसपाली जीटीएले नाटक क्षेत्रमा प्रदान गरिने डीबी परियार स्मृति पुरस्कारले पुरस्कृत गरिएकोमा जागृति परिवारले सम्मान जनाएको छ। यसै कार्यक्रममा जागृति परिवारको पक्षबाट भरत गुरुङ, बिजयकुमार राई, रमेश रसाईली र प्रीति तामाङलाई सम्मानित गरिएको छ। कार्यक्रममा जागृति परिवारको आजीवन सदस्य रामकुमार प्रधानले जादु प्रस्तुत गरेका थिए। कार्यक्रममा जागृति परिवारको संस्थापक पूर्ण गुरुङ निरुपमले ‘जागृति परिवार : अतितदेखि वर्तमानसम्म’ नामक शीर्षकमा जागृति परिवारको स्थापना र त्यसताकको अनुभवहरू साझा गरेका थिए। उनले संस्थाको उद्देश्य नाटक गर्नु मात्र नभएर लुकेका प्रतिभाहरूलाई खोजी निकालेर उजागर गर्नु पनि रहेको बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित वरिष्ठ साहित्यकार एंव प्रख्यात् नाटककार राजु प्रधान हिमांशुले आफ्नो वक्तव्यमा हाम्रो नाटक, कला, साहित्य र भाषाको संरक्षण हुन आवश्यक छ भनी बताएका छन्। उनले हाम्रो नाटकहरू विषयमा पनि इतिहास लेखिनुपर्छ भनी बताएका छन्। प्रधानले नाटक लेखन, निर्देशन र मञ्चन विषयमा आफ्नो अनुभवहरू पनि साझा गरेका थिए। कार्यक्रममा नाटककार पी अर्जुन र सभाध्यक्ष जागृति परिवारको सभापति खेमराज राईले पनि वक्तव्य राखेका थिए। अाजको कार्यक्रममा जागृति परिवारका पुराना सदस्य- सदस्याहरू विभिन्न स्थानहरूबाट उपस्थित रहेका थिए।