२ सेप्टेम्बरः भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले बताएअनुसार, उनी आउँदो साल पेरिसमा आफ्नो स्वर्ण पदक अनि २०२५-मा आफ्नो वर्ल्ड च्याम्पियनशीप खिताब कायम राख्न हरसम्भव प्रयास गर्नेछन्। बुडापेस्टमा विश्व खिताब जितेपछि २५ वर्षीय नीरज ओलम्पिक र वर्ल्ड च्याम्पियनशीप खिताब दुवै जित्ने खेलको इतिहासमा तेस्रो ज्याभलिन थ्रो खेलाड़ी बनेका थिए। यसैकारण नीरजसँग के उनी चेक गणराज्यका महान एथलीट जान जेलेज्नीको उपलब्धिलाई हासिल गर्न सक्छन् भनी प्रश्न गरियो, जसको नाममा तीनवटा ओलम्पिक अनि तीनवटा वर्ल्ड च्याम्पियनशीप खिताब रहेको छ। यस प्रश्नको जवाफमा नीरजले भने, म प्रेरित बनिरहे अनि आफ्नो खेलमा ध्यान केन्द्रित गरिरहे भने सबैथोक सम्भव छ। मेरो प्रयास आफ्नो खिताबलाई दोहोऱ्याउने रहनेछ अनि यसको निम्ति म कठोर मेहनत गर्न तयार छु।
नीरजभन्दा पहिला जेलेज्नी र नर्वेका आन्द्रियास थोरकिल्डसनले लगातार ओलम्पिक र वर्ल्ड च्याम्पियनशीप खिताब जितेका थिए। जेलेज्नी यस भारतीय सुपरस्टारका आदर्श पनि हुन्, जसले १९९२, १९९६ र २०००-मा ओलम्पिक स्वर्ण जबकि १९९३, १९९५ र २००१-मा वर्ल्ड च्याम्पियनशीप खिताब जितेका थिए। थोरकिल्डसनले २००८-मा ओलम्पिक र २००९-मा वर्ल्ड च्याम्पियनशीप खिताब जितेका थिए। नीरजले यसको साथमा आउँदो साल पेरिस ओलम्पिकमा स्वर्ण पदक बचाउनु ठूलो चुनौती हुने पनि स्वीकार गरे। उनले भने, पहिला टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्नु चुनौती थियो अनि अब त्यसलाई कायम राख्नु झन् ठूलो चुनौती हुनेछ कारण हरेक एथलीट पूरा तयारीको साथ ओर्लिनेछन्। यसमा टोक्यो ओलम्पिकभन्दा अधिक दबाउ रहनेछ कारण ममाथि प्रत्याशाको दबाउ रहनेछ। समस्त देशवासीको नजर मेरो प्रदर्शनमाथि रहनेछ।
नीरजले भने, सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई चोट-पटकदेखि बचाएर राख्नु हो। सबै खिताब जित्नको निम्ति मैले आफूलाई स्वस्थ्य अनि चोटमुक्त राख्नु पर्नेछ। उल्लेखनीय छ, नीरज बिहीवार ज्यूरिख डायमण्ड लीगमा दोस्रो स्थानमा रहे। नीरजले बताएअनुसार, वर्ल्ड च्याम्पियनशीप अघि उनको खोकी र घाँटीमा समस्या रहेको थियो। उनले भने, म यो कुरा पहिला बताउन चाहदिन थिएँ कारण मानिसहरूले त्यसलाई बहाना सम्झिन सक्थे तर क्वालीफिकेशन राउण्डको समय मलाई साँच्चै खोकी र घाँटीमा पीढ़ा रहेको थियो। ज्यूरिखमा पनि मलाई समस्या भइरहेको थियो। म चाँड़ै ठिक हुनेछु अनि एकजना एथलीटको जीवनमा यस्तो हुनु कुनै नयाँ कुरा होइन।