मार्ताममा ग्रामीण पर्यटन विकास गर्न टासले सहयोग गर्ने

home_305

गान्तोकः शहरी क्षेत्रमा पर्यटन विकासको सम्भावना सीमित बन्दै गएपछि सिक्किमको ग्रामीण क्षेत्रमा पर्यटन विकासका सम्भावनालाई खोज्ने पहल शुरु भएको छ। सिक्किमका कतिपय ग्रामीण क्षेत्रले पर्यटन विकासमा अघिबाटै राम्रो काम शुरु गरिसकेका छन् भने यस क्षेत्रमा सम्भावना रहेका गाउँलाई पर्यटन हितधारकहरू स्वंयले प्रचार र विकासमा सहयोग गर्ने कदम पनि उठाएका छन्। राजधानी गान्तोकमा आउने पर्यटकलाई नजिकका गाउँमा पनि पुऱ्याएर ग्रामीण पर्यटनको अनुभव दिलाउने र स्थानीय मानिसहरूलाई पर्यटन हितधारक र व्यवसायी बनाउने पहल गर्दै ट्राभल एजेन्टस् एसोसिएशन अफ् सिक्किम (टास)-ले पूर्व सिक्किमको मार्तामका मानिसहरूलाई पर्यटन विकासमा सहयोग गर्ने भएको छ। रूम्तेक मार्ताम निर्वाचन क्षेत्रमा पर्ने मार्ताम वार्ड राजधानी गान्तोकदेखि लगभग ३५ किलोमिटरको दूरीमा रहेको र यहाँ ग्रामीण पर्यटनको सम्भावना पनि व्यापक रहेका कारण टासले यसको विकास र प्रचार-प्रसारमा पूर्ण सहयोग गर्ने बताएको छ।

यसै विषयलाई लिएर आजका टासका अध्यक्ष नोर्गे लाचुङ्पा सहित टासका अन्य प्रतिनिधिले मार्ताम वार्डको भ्रमण गरेर स्थानीय पर्यटन सम्भावना माथि जानकारी लिनसँगै मानिसहरूसँग अन्तरक्रिया गरे। यस क्रममा मार्तामका मनिसहरूले ग्रामीण पर्यटनको विकासमा इच्छा देखाएका छन् भने उनीहरूले पर्यटकलाई गाउँमा आकर्षित गर्नसक्ने केही पर्यटन स्थल र पूर्वाधारको पनि जानकारी गारएका छन्। मार्ताममा अहिले पाँच घरका मानिसहरूले होमस्टे सञ्चालन गरिरहेका छन् जसमा २५ देखि ३० जनासम्म पर्यटक अटाउन सक्ने सम्भावना रहेको छ। टासबाट पूर्ण सहयोग र समर्थन पाएको खण्डमा सामुदायिक आधारमा होमस्टे सञ्चालन गर्न आफूहरू तयार रहेको स्थानीय मानिसहरूले बताएका छन्। टासले प्रतिनिधिहरूले यहाँका मानिसहरूलाई होमस्टे सञ्चालनबारे जानकारी दिलाउन एस्पोजर दिने र आवश्यक तालिम पनि प्रदान गर्ने भएपछि ग्रामीण पर्यटनका लागि व्यापक चासो देखाएका मानिसहरूले टासप्रति आभार व्यक्त गरेका छन्।

स्थानीय क्षेत्रमा धेरैवटा गुम्बा रहेकाले धार्मिक पर्यटनका क्षेत्रमा ठूलो सम्भावना रहेको र मार्ताम वार्डमा पर्ने बर-छाँगे फल्स, स्थानीय वनमा पाइने पुतली र चरा, तीनजुरेको ट्राकिङ साथै माउन्टेन बाइकिङ र साइकलिङको माध्यमबाट सहासिक पर्यटनको सम्भाव्यतालाई प्रचार प्रसार गर्ने पर्यटन सम्वर्धन र विकासको अभियानमा मार्तामलाई पूर्ण सहयोग पुऱ्याएर अघि लानसके भविष्यमा मार्तामले राम्रो प्रगति गर्नसक्ने विश्वास राखेर काम शुरु गरेको टासले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement