१ सेप्टेम्बरः ज्यूरिख डायमण्ड लीगमा भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा दोस्रो स्थानमा रहे। उनले ८५.७१ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहेर डायमण्ड लीगको फाइनलमा स्थान बनाए। फाइनल १७ सेप्टेम्बरमा अमेरिकाको यूजीनमा हुनेछ। वर्ल्ड च्याम्पियनशीपमा हालै स्वर्ण पदक जित्ने नीरज केवल केही सेण्टिमीटरले गर्दा पहिलो स्थान हासिल गर्नदेखि चुके। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जित्ने चेक रिपब्लिकका जाकुब वादलेचले ८५.८६ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ पहिलो स्थान हासिल गरे। नीरज उनीभन्दा केवल १५ सेण्टिमीटर पछि रहे। यसरी नै ज्यूरिख डायमण्ड लीगको लंग जम्प स्पर्धामा भारतका मुरली श्रीशंकर पाँचौं स्थानमा रहे। विश्व च्याम्पियन बनेको चार दिनपछि स्टार ज्याभलिन थ्रोअर नीरज समक्ष यस सीजनमा आफ्नो जीतको क्रम जारी राख्ने चुनौती थियो। यस सीजनमा नीरजले तीनवटा प्रतियोगितामा हिस्सा लिएर तीनैवटामा स्वर्ण पदक जितेका थिए। बुडापेस्टमा पनि ८८.१७ मीटरको दूरीमा भाला फ्याँकेर स्वर्ण पदक जितेका थिए तर ज्यूरिखमा चाहिँ उनको ६ वटा प्रयासमा तीनवटा फाउल रह्यो। उनको प्रयास यसप्रकार रह्यो- ८०.७९ मीटर, फाउल, फाउल, ८५.२२ मीटर, फाउल र ८५.७१ मीटर। यस स्पर्धामा ग्रेनाडाका एण्डरसन पीटर्सले ७८.७८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ तेस्रो स्थान हासिल गरे।