जबसम्म हामी सिङ्गो गोर्खा भएर मुद्दामाथि काम गर्दैनौं तबसम्म हाम्रो मुद्दाले पार पाउँदैन: अनित थापा
दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा आज दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा नेपाली भाषा मान्यता एवं भाषा सेवा सम्मान पुरस्कार अलङ्कार समारोह सम्पन्न भएको छ।

नेपाली अकादेमी, सूचना एवं सांस्कृतिक विभाग, जीटीए अनि दार्जीलिङ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जीटीएको मुख्य कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस अवसरमा नेपाली भाषा मान्यतामा बहुमूल्य योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा भने,
“जबसम्म हामी सिङ्गो गोर्खा भएर मुद्दामाथि काम गर्दैनौ तबसम्म हाम्रो मुद्दाले पार लगाउँदैन भनी बताएका छन्।

उनले अघि भने, ‘आमाको कोखबाट नै सिकेर ल्याएको भाषा, नेपाली भाषा हो। टेक्नोलोजीले हाम्रो भाषालाई कुनै प्रभाव नपार्नु पर्ने हो। हामीले बोल्ने भाषालाई भाषा संग्रामीहरुले संवैधानिक मान्यता पनि दिलाई दिनुभयो।’
उनले अझ भने, ‘हामी राजनैतिक प्रेरणाले हाम्रो सपना पूरा गर्नु खोज्दैछौं। राजनैतिक पार्टीले लिएर हिँडेको मुद्दा कुर्सीमा पुगेर टुंगिन्छ। भाषाको आन्दोलनमा लागेका संग्रामीहरुले कुनै दिन पनि कुर्सीको निम्ति संग्राम गरेनन्। नेताहरुले उठाएको मुद्दा चुनाव सक्दा नसक्दा नै सकिन्छ। हामीलाई चुनावको समय मात्र मुद्दा याद आउँछ। राजनैतिक पार्टीले बोकेको गोर्खाको सपना कुनै दिन पनि पूरा हुन्छ भन्ने मलाई लाग्दैन। मेरो विचार राखेको मात्र हुँ। हाम्रो सपना विपना अवश्य हुनेछ। तर गोर्खाको सपनालाई विपना बनाउन बुद्धिजीवी अनि सक्षम व्यक्तिहरूले नेतृत्व दिनु पर्छ।भाषा आन्दोलन सफल हुनुको मुख्य कारण स्वार्थ विहिन आन्दोलन रहेर हो। जहाँ स्वार्थ लुकेको हुन्छ यस किसिमको आन्दोलन सफल कदापि हुँदैन।’

जीटीएको मुख्य कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा अघि भने,’जबसम्म हामी सिङ्गो गोर्खा भएर मुद्दामाथि काम गर्दैनौं तबसम्म हाम्रो मुद्दाले पार लगाउँदैन। मुद्दा बोक्ने क्षमतावान हुनुपर्छ। जोसुकैले मुद्दा उठाएर हुँदैन। लोक सभा अनि राज्य सभामा बुझाउन सक्ने क्षमता भएको गोर्खा व्यक्तित्वहरू हाम्रो समाजमा छ। अहिले हामी माझ नै मुद्दाको खोसा खोस् चलिरहेको छ।’