शब्द समय सालबारीको १२१औं प्रकरण सम्पन्न

IMG-20230830-WA0315.jpg

खरसाङ: प्रत्येक महिनाको अन्तिम शनिबार सम्पन्न हुने शब्द समय सालबारीको १२१औं प्रकरण सालबारीको स्थानीय सयपत्री भवनमा सम्पन्न भयो। प्रकरणको प्रथममा गत केही दिन अघि सिलगढ़ीको मतिगड़ामा नाबालिग विद्यार्थीको नृशंस हत्याको निन्दा गर्दै दिवङ्गत विद्यार्थीको आत्मशान्तिको प्रार्थना गर्दै दुई मिनटको मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरियो। यस प्रकरणमा वरिष्ठ साहित्यकार कवि-कथाकार भविलाल लामिछानेले प्रारम्भिक उदगार राख्दै नाबालिग घटनाबारे चिन्ता व्यक्त गर्दै अभिभावकहरूले आफ्ना नानीहरूलाई लिएर सचेत बन्नपर्ने र नानीहरूलाई सतर्क गराउन आवश्यक छ भनी बताए। उनले आफ्नो सम्बोधनमा शब्द समयका अभिभावक व्यक्तित्त्व साहित्यकार नरबहादुर दाहालको स्वास्थ्यबारे चिन्ता प्रकट गर्दै उनको शीघ्र सुस्वास्थ्यको कामना गरे। उनले आफ्नो रचना पठन गर्ने क्रममा तीनवटा गजलहरू वाचन गरेका थिए। वरिष्ठ कवि मोहन ठकुरीले शब्द समयका प्रारम्भिक प्रकरणहरू आयोजनाहरूका स्मरण गरे। उनले यस अवसरमा कथा पनि वाचन गरेर सुनाए। खरसाङबाट कार्यक्रममा सहभागी बन्न आएका प्रसिद्ध समाजसेवी तिलक शर्माले पनि यस अवसरमा सम्बोधन राखे अनि उनले शब्द समयलाई अर्थ सहयोग गरे। उम्दा कवि कविता अधिकारीले ‘यस्तो पाठ पढ़ाउन सकिन्न?’ शीर्षकमा कविता पठन गरेर सुनाइन्। यसपल्ट रम्भास कवि लीलबहादुर सुनारले युग्मकहरू वाचन गरेका थिए। कवि-कथाकार-चित्रकार सुवास छेत्रीले भानुमाथि प्रतिकात्मक कविता प्रस्तुत गरे। रचना पाठ गर्ने अन्य सर्जकहरूमा कवि निर्मल सिन्चुरी, कवि हेमन्त काफ्ले, कवि पूर्ण मंगर, अ.प्रा. कप्तान महेश कुमार सुब्बा, वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा अनि युग्मककार कालूसिंह रनपहेंली थिए। आफ्ना कुराहरू राख्ने क्रममा वरिष्ठ-कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले भानु जयन्तीमा सिलगढ़ीले पनि सरकारी छुट्टी पाउनुपर्छ भन्ने पहलमा उठाइएका कदमहरू र गरेका कार्यहरूको संस्मरण गरे। यस समय पैदल यात्राको क्रममा समाजसेवी तिलक शर्माले खरसाङमा गरेका सहयोग र योगदानको उल्लेख पनि उनी गरिरहेका थिए। कवि खतिवडाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन पनि गरे। उनले विशेष धन्यवाद कवि हेमन्त काँफ्लेलाई दिए जसले शब्द समयको निम्ति आफ्नो खर्चमा सुन्दर ब्यानर तयार पारेर यसै प्रकरणमा प्रदान गरेका थिए। यस प्रकरणलाई शब्द समयका नयाँ संयोजक कालूसिंह रनपहेंलीले सञ्चालन गरेका थिए। उनले पूर्व संयोजक वरिष्ठ साहित्यकार खडकराज गिरीको कुशल कार्य सम्पादनको निम्ति हार्दिक आभार व्यक्त गरे अनि आफ्नो कार्यकालका निम्ति सबै सदस्यहरूको सहयोय र सक्रीयताको निवेदन गरे। उनले भने, शब्द समयको निक्कै अघिको पत्रिका निकाल्ने पहल अधूरो रहेको छ यसलाई शीघ्र कार्यान्वयन गर्न सकिने कुरामा आशा व्यक्त गरे। यसै अवसरमा कथाकार-अनुवादक जीतबहादुर सुनारलाई शब्द समयका कोषाध्यक्षको रूपमा कार्यभार सुम्पने संयोजकको प्रस्तावलाई शब्द समयका सशक्त स्तम्भ कवि ज्ञानेन्द्र खतिवड़ाले समर्थन गरेपछि वरिष्ठ कवि मोहन ठकुरीले उनलाई खदा पहिर्याएर स्वागत जनाउँदै बधाई टक्राए। यस प्रकरणमा प्रसिद्ध चलचित्र अभिनेता टङ्क शर्मा पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *