खरसाङ: वरिष्ठ संगीतकार एंव आकाशवाणी खरसाङको संगीततार महेश्वर लामा आफ्नो पदबाट अवकाशप्राप्त भएका छन्। २८ अप्रेल १९९४ देखि आकाशवाणी खरसाङमा संगीतकारको रूपमा कार्यरत् महेश्वर लामा आज ३१ अगस्त २०२३ देखि अवकाशप्राप्त भएका छन्। उनी अवकाशप्राप्त भएपछि आज आकाशवाणी खरसाङमा एक कार्यक्रम आयोजना गरी उनलाई सम्मान जनाइएको छ। संगीतकार महेश्वर लामाको बिदाई एंव सम्मान कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको विशेष उपस्थितिमा सम्पन्न भएको छ। आकाशवाणी खरसाङको वरिष्ठ उदघोषक उमेश कार्कीडोलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा आकाशवाणी खरसाङ मनोरञ्जन एकाईको आयोजनामा विविध कार्यक्रमहरू सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा अवकाशप्राप्त संगीतकार महेश्वर लामाको जीवनी विषयमा प्रसारण निष्पादक लेखनाथ राईले राखेका थिए। कार्यक्रममा स्वागत गीत उदघोषक उदघोषिका टोलीले प्रस्तुत गरेका थिए भने उमेश कार्कीडोली, बिनीता लामा बोस, पवन डुक्पा, लेखनाथ राई आदिले कविता पठन गरेका थिए। त्यसरी नै सञ्जय रावत, निङमा डुक्पा, शर्मिष्टा सिंह अादिले गीत प्रस्तुत गरेका थिए। त्यसरी नै सबिना गिरी र सिल्भेष्टर लेप्चाद्वारा युगल नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा अवकाशप्राप्त संगीतकार महेश्वर लामालाई आकाशवाणीको तर्फबाट सम्बर्ध्दना पत्र, स्मृति चिन्ह, रेडियो सेट साथै अन्य उपहार प्रदान गरेर जम्मान जनाइएको छ। यस अवसरमा केक काटेर उनको अवकाशप्राप्त जीवनको शुभकामना प्रकट गरिएको छ। यस अवसरमा महेश्वर लामाकी पत्नी र छोरी ज्वाई पनि उपस्थित रहेका थिए।

कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र अालेले आफ्नो वक्तव्यमा संगीतकार महेश्वर लामासित गरेको कामहरूका अनुभवहरू साझा गरेका थिए। उनले आकाशवाणी खरसाङमा एकसाथ संगीतको क्षेत्रमा धेरैवटा कामहरू गरेका कुराहरू साझा गरेका थिए। त्यसरी नै अवकाशप्राप्त संगीतकार महेश्वर लामाले आफु शुरुमा आकाशवाणी खरसाङसित जोड़िएको बेलाको कुराहरूका सम्झना साझा गरेका थिए। उनले आकाशवाणी खरसाङ हामी सबैको लागि एक धरोहर रहेको र यस धरोहरमा जोडिएर सबैले आफ्नो बेस्ट दिनु पर्ने बताएका छन्। उनले आकाशवाणी खरसाङसित सम्बन्धित आफ्नो अनुभवहरू पनि साझा गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन प्रसारण निष्पादक मनन तामाङले राखेका थिए।