दार्जिलिङ: पहाड़ी क्षेत्र दार्जिलिङ अनि कालेबुङ जिल्लाहरूका वर्तमानमा सत्ताधारीहरूलाई हाम्रो क्षेत्रको इतिहासबारे रत्तिभर जानकारी नहुनु अनि आज गोर्खा जातिबारे तिनीहरूका विवेकहीन दावीहरूले हाम्रो क्षेत्र र जनताको इतिहासलाई विकृत स्वरूप दिन खोजिरहेका छन् भन्ने कुरा अत्यन्तै चिन्ताजनक छ भनी दार्जिलिङका सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले आज बताएका छन्। सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘केही महिना अघि एकजना टीएमसी मन्त्रीले पश्चिम बङ्गाल विधानसभामा “गोर्खा इनफ्लक्स” भनी उल्लेख गरेका थिए र आज गोर्खा जाति विरुद्ध अति नराम्रो अपमानजनक टिप्पणी गर्ने व्यक्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कानूनी अधिकारी हुन्। यी दुइ भनाइहरुलाई नियालेर हेर्द मलाई लाग्दैन कि गोर्खा महाजाति विरुद्ध यस्ता गलत जानकारी भएको अपमानजनक टिप्पणी एउटा वकिलले जथाभावी बोलेको हो, बरु ऊ आफ्नो मालिकको पक्षमा जानी बुझिकन यस्ता आधारहीन दावीहरू गर्नका लागि टीएमसीद्वारा सुनियोजित ढङ्गले भाड़ामा राखिएको एजेन्ट हुन् सक्छ। आफ्ना मालिकहरूको पक्षमा यस्तो गलत जानकारीहरू फिँज्याउनेहरूले गोर्खा जाति अनि हाम्रो क्षेत्रमा गोर्खा दावीहरूको वैधतालाई नष्ट गर्न चाहनेहरूलाई मद्दत पुऱ्याउन सक्षम भइरहेका छन्। यसो गरेर तिनीहरूले हाम्रो क्षेत्रको इतिहासबारे टीएमसीद्वारा प्रतिपादित यथार्थशून्य दुष्प्रचारलाई दोहोऱ्याइरहेका छन्।’
सासंद विष्टले विज्ञप्तिमा भने, ‘हास्यास्पद के छ भने, गोर्खा जातिको जरा काट्ने वक्तब्य तिनै व्यक्तिहरूले दिई रहेका छन जसले मलाई “बाहिरको” अनि आफैलाई “भूमिपुत्रहरू” बताउँछन्। यी “भूमिपुत्रहरू”लाई थाहा छैन जस्तो छ कि दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्र निमित सदादेखि तिब्बत, भूटान, तत्कालीन सिक्किम अधिराज्य, अनि नेपालद्वारा भौगोलिक प्रभुत्वका लागि परस्पर प्रतिस्पर्धा गर्दै आएका हुन्। राजा र अधिराज्य बदलिंन्दै गएपनि यहाँका जनता रही रहे। अनि अभिलिखित इतिहासले देखाउँछ कि सन् १७७७ देखिन १८१६ सम्म दार्जीलिङ गोर्खाहरुको स्वामित्वमा थियो। तसर्थ, बीजीपीएम नेताहरूद्वारा गोर्खाहरू हाम्रो आफ्नै भूमिमा आप्रवासी हुन् भन्ने दावी सरासर गलत छ। हामी आप्रवासी होइनौँ।”
सासंद राजु अघि भनेका छन् – ‘१९०७ मा प्रकाशित एलएसएस ओ’माल्लेद्वारा लिखित दार्जिलिङको प्रथम जिल्ला गजेटियरमा उनले उल्लेख गरेअनुसार १८२९ मा जे. डब्ल्यु. ग्रान्टका साथ क्याप्टेन जर्ज अलिमेर लयड दार्जीलिङको भ्रमण गर्ने प्रथम युरोपेली बन्दा उनीहरूले हाम्रो स्थललाई “पुरानो गुर्खा [गोर्खा] स्टेशन दोर्जेलिङ”को रूपमा उल्लेख गरेका थिए। तसर्थ, १८२९ मा नै दार्जीलिङलाई “पुरानो गोर्खा स्टेशन” भनिन्थ्यो भने गोर्खाहरू आफ्नै भूमिमा कसरी आप्रवासी हुन सक्छन्? ब्रिटिशले तत्कालीन सिक्किम अधिराज्यबाट दार्जीलिङ भूभागलाई १८३५ मा लीजमा लिनुभन्दा छः वर्ष पहिलेको यो कुरो हो।’
सासंदले अझ भने, ‘अझ भन्नु पर्दा, ओ’माल्ले-ले उल्लेख गरेका छन्, “दार्जीलिङ आफै पहिले एउटा ठूलो गाउँ र प्रमुख काजीका रेजिडेन्टहरू मध्ये एकको आधिपत्यमा रहेको भएता पनि…” जसको अर्थ हो कि यहाँ ब्रिटिश आइपुग्नुभन्दा धेरै अघिदेखि यहाँ ठूलो जनसंख्याको बसोबासो थियो।’
सासंद राजु विष्टले भनेका छन् -‘यसबाहेक, १८९१ भन्दा पहिले औपनिवेशिक अधिकारीहरूद्वारा लिखित विभिन्न पुराना ग्रन्थहरूमा उद्धृत आँकड़ालाई दैविक सत्यको रूपमा लिन सकिँदैन, जस्तोकि ओ’माल्ली स्वयंले अगाड़ि भनेका छन्, “यो वृद्धिको एउटा ठूलो हिस्सा [जनगणनाहरू बीच जनसंख्यमा वृद्धि] पहिलो जनगणनाको अपूर्णता र अशुद्धताको कारणले मात्रै थियो भन्ने कुरोमा कुनै शङ्का छैन।“
सासंदले अझ भने, ‘त्यसर्थ, एकजना युरोपेली व्यक्तिद्वारा लिखित दार्जीलिङको प्रथम जिल्ला गजेटियरमा भनिएको छ कि दार्जीलिङ एउटा “पुरानो गोर्खा स्टेशन” थियो, अनि “यो प्रमुख काजीहरू मध्ये एकको निवास स्थल थियो”, अनि १८९१ भन्दा पहिलेको पुरानो जनगणना तथ्याङ्कमाथि “अपूर्णता र अशुद्धीका” कारण भर पर्न सकिँदैन। बीजीपीएम नेताहरूद्वारा गोर्खाहरू हाम्रो भूमिमा आप्रवासी हुन् भन्ने दावी गर्नका लागि त्यस्ता अशुद्ध तथ्याङ्कहरू उद्धृत गर्नु एकदमै विवेकशून्यता मात्रै नभएर उनीहरुको कुटिलतापूर्ण चाल हो।’
उनले अझ भने, ‘बीजीपीएम र टीएमसी दुवैले गोर्खाहरूलाई आप्रवासी ठान्छन् भन्ने कुरा अब स्पष्ट हुँदै गइरहेको छ। त्यसैले गर्दा होला, यी दुई पार्टीहरू बीजीपीएम र टीएमसी-ले हाम्रा जनतालाई हिज-आज “शरणार्थी पट्टा” स्वीकार गर्न बाध्य गरिरहेका छन्। तर आजका शिक्षित गोर्खाहरूले तिनीहरूका विवेकशून्य कथनहरूको भर्त्सना मात्रै न गरेर अपितु तिनीहरूको कुत्सित उद्देश्यहरूविरुद्ध प्रश्न पनि गर्नेछन् भन्ने उनीहरुले सपनामा पनि सोचेका थिएनन् होला। यही कुरोले उनीहरूलाई सबैभन्दा धेरै चिन्तित बनाएको छ।’