सोनादा: सोनादा डिग्री कलेजका प्रथम पूर्णकालीन प्राचार्य डा. एलपी गुप्ताको बिदाई एवम् सम्मान समारोह कलेजको प्रेक्षागृहमा कलेज गवर्निङ बडीका सभानेत्री एवम् राज्यसभाकी पूर्व सांसद शान्ता छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। समारोहमा प्रा मेघनाथ छेत्रीले डा. एलपी गुप्ताको जीवनी एवम् उनलाई दिइने सम्मान पत्र पठन गरेका थिए। २५ अगस्त १९५८ मा पोख्रेबुङमा जन्म ग्रहण गरेका डा. गुप्ताले आफू अनेपाली भए पनि पोख्रेबुङ बुनियादी पाठशालाबाट नेपाली माध्यममा शिक्षा शुरु गरेर राजनीति शास्त्रमा एमए र पीएचडी तथा पोष्ट डक्टरेट जस्ता डिग्री हाँसिल गरेर दार्जीलिङ पहाडमा उच्च शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिएको साथै डा. गुप्ताले सन् १९९७ मा ट्राइबल डेभलपमेन्ट एडमिनिष्ट्रेशन र २००५ मा फिमेल ट्राइबल एडमिनिष्ट्रेशन जस्ता शोधपरक पुस्तकहरू पनि प्रकाशित गरेको कुरो प्रा. मेघनाथ छेत्रीले बताएका थिए। चालिस वर्षभन्दा धेर समय शिक्षा क्षेत्रमा व्यतित गरेका डा. एलपी गुप्ताले सोनादा डिग्री कलेजमा प्राचार्य हुन अघि धेरै वर्षसम्म दार्जिलिङको सन्त जोसेफ कलेजमा अनि केही समय दार्जीलिङ सरकारी महाविद्यालय र लरेटो कलेजमा पनि प्राध्यापकको रूपमा सेवा पुर्याएको अनि १० फरवरी २००५ देखि ३१ अगष्ट २०२३ सम्म सोनादा डिग्री कलेजमा प्राचार्यको रुपमा कार्य गरेका थिए। प्राचार्यको रुपमा अठार वर्ष छ महिनाको कार्यावधिमा डा गुप्ताले कलेजको उत्तरोतर प्रगतिमा दिएको योगदानलाई कदर गर्दै कलेजको तर्फबाट शिरशोभा, दोसल्ला र उपहारहरूको साथमा सम्मान पत्र प्रदान गरिएको थियो। आफ्नो सम्बोधनमा डा. एलपी गुप्ताले आफु प्राचार्य भएर आउँदा कलेजको अवस्था अति नै दयनीय रहेको बताउदै बडो संघर्ष गरेर कलेजलाई उत्तर बङ्ग विश्वविद्यालयसंग स्थायी एफिलेशन, विश्वविद्यालय अनुदान आयोगमा कलेजलाई १२ए, १२बी र २एफ अन्तर्गत मान्यता दिलाउन साथै कलेजमा शिक्षण- अशिक्षणकर्मीहरू र विद्यार्थीहरूको संख्यामा बृद्धिसंगै विभिन्न विषयहरूमा अनर्स ल्याउन र कलेज भवनहरूको बढोत्तरी गर्न कलेजको आर्थिक पक्ष सबल पार्न र राष्ट्रीय मूल्याङ्कन एवम् प्रत्यायन परिषद् (न्याक) मार्फत कलेजलाई बी ग्रेडको मान्यता दिलाउन आफूहरू सक्षम भएको कुरो साझा गरे। आफ्नो सेवाकाल संघर्ष र चुनौतिपूर्ण रहेपनि आफ्ना कार्यहरूदेखि आफू सन्तुष्ट रहेको कुरो उनले जाहेर गरे। कलेजको प्रगतिमा डा. एलपी गुप्ताको योगदान एवम् उनको गुण- अवगुणहरूको बारेमा डा रागिनी थापा, प्रा सुशिला बराईली, प्रा. प्रमोद छेत्री, उत्तमा सुन्दास, प्रा. मेघनाथ छेत्री, प्रा. पेञ्चुला भोटिया लगायत विद्यार्थीहरूले आ- आफ्ना मन्तव्य दिएका थिए। सबैले डा. गुप्ता अति सरल, मृदुभाषी रहेको कुरो बताएका थिए। प्रा. अनिल विश्वकर्मा र प्रा. पर्वत रसाईलीद्वारा सञ्चालित उक्त समारोहमा विद्यार्थीहरूले रङ्गारङ्ग सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए। समारोहलाई सम्बोधन गर्दै समारोहकी अध्यक्षा श्रीमती शान्ता छेत्रीले डा. एलपी गुप्ताको अवकासप्राप्त सुखमय जीवनको कामना गर्दै कलेजको प्रगतिमा उनले दिएको योगदानहरूलाई कलेजले सधैँ स्मरण गर्नेछ भन्दै गुप्ता सर बिहारी सम्प्रदायको भएतापनि उनको ह्रदय गोर्खाको जस्तै रहेको अनि उनले नेपाली माध्यममा नै शिक्षा ग्रहण गरेर पनि उच्च शिक्षा हासिल गरी यति ठूलो ओहोदामा पुगेर अवकाश ग्रहण गर्नु बिहारी र गोर्खा दुवै सम्प्रदायको लागि अति नै गर्वको विषय रहेको कुरो बताउदै अब उनले देखाएको बाटोलाई अनुशरण गरी कलेजको प्रगतिलाई अझ बढाएर लाने जिम्मेवारी वर्तमान शिक्षण- अशिक्षणकर्मीहरूको रहेको कुरो सम्झाईन्। समारोहमा स्वागत वक्तव्य प्रा.सुशिला बराईली र धन्यवाद ज्ञापन प्रा. पेञ्चुला भोटियाले गरेका थिए। स्मरण रहोस् कलेजको गभर्निङ बडीको अघिल्लो सभामा लिइएको निर्णय अनुसार कलेजको भावी टीचर -इन- चार्जको रुपमा कलेजका सिनियर प्राध्यापिका डा.रागिनी थापालाई मनोनीत गरिएकोले आगामी १ सेप्टेम्बरदेखि डा थापाले पदभार ग्रहण गर्नेछिन् र उनको नेतृत्वमा कलेजले अझ उत्तरोतर प्रगति गर्नेछ भनी श्रीमती शान्ता छेत्रीले शुभकामना पनि व्यक्त गरिन्।








