सोरेङ: सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रस्थित जिल्लापालको कार्यालयमा आज जिल्ला स्तरीय नार्को समन्वय समितिको समीक्षा बैठक सम्पन्न भयो। जिल्लापाल एवं नार्को समन्वय समितिका अध्यक्ष भीम ठटालको अध्यक्षतामा सम्पन्न यस बैठकमा पुलिस अधीक्षक नकुल प्रधान, अतिरिक्त जिल्लापाल गायस पेघा, अतिरिक्त पुलिस अधीक्षक परशु शर्मा, मुख्यालयका महकुमा अधिकारी डीआर विष्ट लगायत सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले जन औषधि विषयमाथि जोर दिँदै जिल्लामा एउटा बनाउनुपर्ने कुरामाथि रुचि देखाए। यसपछि उनले सम्बन्धित अधिकारीहरूलाई सचेतना कार्यक्रमको लागि निर्देशन दिए। उनले सम्बन्धितहरूलाई विद्यार्थीहरूमाझ नशालु पदार्थबाट मुक्ति पाउनको निम्ति एक प्रस्तुतिकरण ढंगमा जागरूकता ल्याउनुपर्ने विचार पोखे। योसँगै कृषि, बागवाणी विभागलाई पुलिस विभागसँग संयुक्त भ्रमण गर्दै निजी जमीनबाट पनि गाँजाका विरुवाहरू उखेल्नुपर्ने निर्देश दिए। आजको बैठकले ग्रामसभामा सचेतना कार्यक्रम आयोजन गरिनुपर्ने विषयमाथि पनि जोर दिँदै अर्को समीक्षा बैठकमा यसबारे छलफल गर्न पञ्चायतहरूलाई सहभागी बनाउने निर्णय लिइयो।