१८ मईः मुम्बई इण्डियन्सका दिग्गज पेस बलर जसप्रीत बुमराहले इण्डियन प्रीमियर लीग (आईपीएल)-को जारी सीजनमा अधिक विकेट लिन नसके पनि आफ्नो असाधारण इकोनमी रेटले गर्दा उनले कप्तानलाई खुशी बनाउँदै आएका छन्। यसै क्रममा बुमराहले सनराइजर्स हैदराबाद विरुद्ध मंगलवार राति खेलिएको म्याचमा १ विकेट लिए अनि त्यही एकमात्र विकेटको साथ उनले एउटा खास उपलब्धि हासिल गरे। म्याचमा वाशिंगटन सुन्दरलाई आउट गर्नको साथै बुमराह टी२० क्रिकेटमा २५० विकेट लिने भारतका पहिलो पेस बलर बने। २८ वर्षीय बुमराहले २०१३-मा गुजरातको निम्ति महाराष्ट्र विरुद्ध आफ्नो पहिलो टी२० म्याच खेलेका थिए। उनले अहिलेसम्म २०५ वटा म्याचमा २५० विकेट लिएका छन्। यस सूचीमा बुमराहपछि भुवनेश्वर कुमारको नाम छ। उनले २२३ विकेट लिएका छन्। सूचीमा जयदेव उनादकट (२०१ विकेट) तेस्रो, विनय कुमार (१८९) चौथो र इरफान पठान (१७३) पाँचौं स्थानमा रहेका छन्। बुमराहअघि भारतका चारजना स्पिनरले टी२० क्रिकेटमा २५० भन्दा अधिक विकेट लिएका छन्। सर्वाधिक विकेट रविचन्द्रन अश्विन (२७४ विकेट)-को नाममा रहेको छ। युजवेन्द्र चहल २७१ विकेटको साथ दोस्रो र पीयूष चावला २७० विकेटको साथ तेस्रो स्थानमा रहेका छन्। आईपीएलको जारी सीजनमा बुमराहले अहिलेसम्म १३ वटा म्याचमा १२ विकेट लिएका छन्।