पाल्जर स्टेडियममा राष्ट्रिय खेल दिवस पालन

IMG-20230829-WA0276.jpg

गान्तोकः हकी खेलाडी मेजर ध्यान चन्दको जन्म जयन्तीको अवसरमा सिक्किम राज्यमा राष्ट्रिय खेल दिवस उत्साहपूर्वक पालन गरिएको छ। राज्यको खेल तथा युवा मामिला विभागले आज गान्तोकको पाल्जर स्टेडियममा आयोजन गरेको राज्यस्तरीय राष्ट्रिय खेल दिवसको अवसरमा विभिन्न कार्यक्रम समावेश गरिएका थिए। खेल तथा युवा मामिला विभागका मन्त्री सामडुप लेप्चा मुख्य अतिथिका रुपमा उपस्थित रहेको कार्यक्रममा चिफ मिनिस्टर वान माइल रन र आर्चेरी प्रतियोगिता साथै ताइक्वाण्डो, बक्सिङ र कराँते खेलको प्रदर्शनी राखिएको थियो। विभागले २१ अगस्तदेखि ब्लक तथा जिल्लास्तरमा विभिन्न खेलकुद कार्यक्रम आयोजन गरेको थियो भने आज राष्ट्रिय खेल दिवसको कार्यक्रम पनि जिल्ला स्तरमा पनि आयोजन गरेको बताइएको छ।

पाल्जर स्टेडियममा आयोजित कार्यक्रम अवधि खेल तथा युवा मामिला विभागले नेपालकी एभरेस्टर कल्पना महर्जन, ताइक्वाण्डोमा अन्तरराष्ट्रिय स्वर्ण पदक विजेता त्रिलोक सुब्बा र उगेन गुरुङलाई सम्मान जनायो भने ईएमआरएस गांग्यापका बास्केटबल कोच सिदार्थ योञ्जन र म्याराथन मेन अमर सुब्बालाई प्रसस्ति पत्र प्रदान गऱ्यो। यसै अवसरमा सिक्किम ओलम्पिक एसोसिएसनले पनि पाल्जर स्टेडियमस्थित कार्यालयमा केक काटेर राष्ट्रिय खेल दिवस पालन गरेको थियो। राष्ट्रिय खेल दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सामडुप लेप्चाले सिक्किमका खेल क्षेत्रको विकासका लागि एसकेएम सरकारले प्रतिवद्धताका साथ काम गरिरहेको बताए। एसकेएम सरकार स्थापनापछि खेल क्षेत्रमा पूर्वाधार विकासको क्रममा धेरै वर्षदेखि अधुरा रहेका पूर्वाधार निर्माण कार्य पूरा गरेर सरकारले खेलाडीहरूका लागि समर्पित गरिसकेको बताए।

दक्षिण सिक्किमको किचुडुम्रामा निर्माण गरिने तरुणदीप राई आर्चेरी एकाडेमी र खाम्दोङमा प्रस्तावित जसलाल प्रधान बक्सिङ एकाडेमीले नव प्रतिभाशाली खेलाडीका लागि धेरै अवसर सिर्जना गर्नेछ भन्ने विश्वास व्यक्त गरे। उनले राज्यका युवा खेलाडीलाई सरकारद्वारा सिर्जित अवसरको फाइदा लिन आग्रह गरे। खेल क्षेत्र करियरका लागि मात्र महत्त्वपूर्ण नभएर शारीरिक र मानसिक स्वास्थ्य लागि पनि महत्त्वपूर्ण भएकाले यसमा युवाहरू सहभागिता अधिक हुनुपर्ने मन्त्री लेप्चाले आग्रह गरेका छन्। पाल्जर स्टेडियमा आयोजित कार्यक्रम अवधि विभिन्न खेल प्रतियोगितामा प्रथम तीन स्थान ओगट्न सफल खेलाडीहरूलाई विभागले पुरस्कार प्रदान गरेको थियो। यस राज्यस्तरीय समारोहमा खेल तथा युवा मामिला विभागका सचिव राजु बस्नेत, विभिन्न विभागका अध्यक्ष र सल्लाहकारहरू, सिक्किम अलम्पिक एसोसिएशनका अध्यक्ष लगायत अन्य प्रतिनिधि, विभिन्न खेल सङ्गठनका प्रतिनिधि र खेलो इन्डिया सेन्टरमा प्रशिक्षणार्थी खेलाडीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement