मेधावी स्किल युनिभर्सिटीले पालन गऱ्यो विद्यार्थी अभिमुखी कार्यक्रम

med_245

गान्तोकः मेधावी स्किल युनिभर्सिटी सिक्किमले आज, मङ्गलवार गान्तोकको मनन केन्द्रमा विद्यार्थीहरूलाई लिएर एउटा अभिमुखी कार्यक्रम आयोजन गऱ्यो। यस अवसरमा विद्यार्थीहरूको मनोरञ्जन र शिक्षाका रुपमा विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। मेधावी स्किल युनिभर्सिटी विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा कौशल विकास गराएर रोजगारीका अवसर प्रदान गर्न सिक्किम राज्यमा स्थापित गरिएको हो। यसको मूल क्याम्पास पश्चिम सिक्किमको बर्मेक बर्थाङमा निर्माण गरिने भएको छ भने अस्थायी क्यामपास पूर्व सिक्किमको सिङ्ताम र पश्चिम सिक्किमको बर्मेकमा सञ्चालन भइरहेका छन्।

यस वर्ष मेधावी स्किल युनिभर्सिटीमा ५५० विद्यर्थीले भर्ना लिएपछि आज यी विद्यार्थीका लागि गान्तोकमा अभिमुखी कार्यक्रम आयोजन गरिएको हो। यस कार्यक्रममा सिक्किम सरकाको कृषि विभागका मन्त्री लोकनाथ शर्मा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। युनिभर्सिटीका प्रो चान्सलर कुलदिप शर्मा, उपकुलपति, सङ्कायका सदस्य र विद्यार्थीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले यस युनिभर्सिटीले विद्यार्थीलाई डिग्री प्रदान गर्ने काम मात्रै नगरेर उनीहरूलाई रोजगार अवसर दिलाउन पनि प्रतिवद्धताका साथ काम गर्नुपर्ने बताए। सरकरी क्षेत्रको नोकरी सीमित बन्दै गएका कारण विद्यार्थीहरूमा कौशल विकास भएन भने उनीहरूलाई रोजगारीको अवसर पाउन र जीविकोपार्जको व्यवस्था मिलाउन कठिन हुन्छ भन्ने सोच राखेर सरकारले मेधावी स्किल युनिभर्सिटी सिक्किममा स्थापना गर्ने सोच बनाएको जानकारी दिंदै विश्वविद्यालय पक्षबाट सरकारको लक्ष्य हासिल गराउन इमान्दार प्रयास हुनुपर्ने मन्त्री शर्माले बताए।

यस विश्वविद्यालयले अन्तरराष्ट्रिय स्तरमा पनि आफ्नो छबी बनाउन सफल भएको छ भन्ने उनले सिक्किमका विद्यार्थीले यसबाट फाइदा उठाउनुपर्ने सुझाउ दिएका छन्। देश र राज्यको अर्थ व्यवस्था कृषि क्षेत्रमा निर्भर रहेका कारण अन्य क्षेत्रको कौशल विकास सॅंगै मेधावी स्किल युनिभर्सिटीले विद्यार्थीका लागि कृषि र पशुपालन क्षेत्रसंग सम्बन्धित तालिम मोडल र कोर्सको विकास गरेर यसतर्फ विद्यार्थीलाई आकर्शित गराउनुपर्ने बताए। कौशल विकास र प्लेसमेन्टको जून वचन विश्वविद्यालयले दिएको छ त्यसबाट सिक्किमले धोखा पाउने छैन भन्ने मन्त्री शर्माले विश्वास व्यक्त गरेका छन्। प्रो चान्सलर कुलदिप शर्माले मेधावी स्किल युनिभर्सिटीको लक्ष्य विद्यार्थीमा कौशल विकास गराएर रोजगारी अवसर दिनेसम्म मात्र सीमित नरहेर स्टार्टअप र अन्य योजनाका माध्यमबाट नव उद्यमी तयार पार्नु रहेको बताएका छन्। विश्वविद्यालले सिक्किम लगायत पूर्वोत्तर क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने साथै राष्ट्रिय स्तरका खेलाडी विद्यार्थीका लागि सय प्रतिशत छात्रवृत्ति दिलाउने पनि प्रतिवद्धता व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement