कोलकाताः पाकिस्तानी गुप्तचर एजेन्सीको लागि सुराकी गरेको आरोपमा कोलकातामा पक्राउ गरिएको भक्त बंशी झा (३६)-ले कोलकातासित गाँसिएको प्रख्यात बाली ब्रिजलाई उड़ाउने योजना बनाइरहेको थियो। गत साता उसलाई कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले पक्राउ गरेको थियो। त्यसपछि उसित लगातार जाँचबुझ भइरहेको छ। जाँचबुझको क्रममा उसको मोबाइल फोनमा बाली ब्रिजको तस्वीर पाइएको छ। उसितको जाँचबुझ र उसको निजी मोबाइल फोनको डेटाको आधारमा जाँच अधिकारीहरूलाई आरोपीले पाकिस्तानस्थित एक महिलालाई रेल-पुल सहित निकटवर्ती मन्दिरका तस्वीरहरू पठाएको जानकारी हात लागेको छ। जाँच अधिकारीहरूलाई झाद्वारा सोशल मीडिया प्लेटफर्मको माध्यमबाट पाकिस्तानस्थित आतंकवादी संगठन संचालकहरूसित आदान-प्रदान गरिएका सन्देशहरूको बारेमा पनि जानकारी प्राप्त भएको छ जसले के दर्शाउँछ भने आरोपीको जरा धेरै गहिरो छ। पुलिस सूत्रले बताए अनुसार कथित रूपमा आफ्नो देशको गुप्तचर एजेन्सीको लागि काम गर्ने पाकिस्तानी महिला लामो समयदेखिकै उसको सम्पर्कमा थिई। तर झा पाकिस्तान गएको थियो वा ती महिला भारत आएकी थिई त्यस सम्बन्धमा भने अहिले केही स्पष्ट हुन सकेको छैन।
गत साता सहयोगी एजेन्सीहरूको इनपुटको आधारमा एसटीएफ अधिकारीहरूले झालाई देशको सुरक्षाको लागि खतरनाक गतिविधिहरूमा प्रत्यक्ष सहभागी भएको आरोपमा पक्राउ गरेका थिए। उसलाई शुक्रवारसाँझ मध्य कोलकाताको लाल बजारस्थित कोलकाता पुलिसको मुख्यालयमा अवस्थित एसटीएफ कार्यालयमा जाँचबुझको लागि डाकिएको थियो। लामो जाँचबुझ पश्चात उसलाई गत २५ अगस्तको साँझ पक्राउ गरिएको थियो। एकजना पुलिस अधिकारीले झालाई पक्राउ गरिएको तत्काल पश्चात भनेका थिए, “जाँचबुझको क्रममा उसको मोबाइल फोनबाट तस्वीरहरू, भीडियोग्राफ र अनलाइन च्याट जस्ता गोप्य जानकारी हात लागेको छ जसलाई आरोपीले पाकिस्तानका एक संदिग्ध गुप्तचर अपरेटिभलाई साझा गरेको थियो।”
पाकिस्तानको जुन गुप्तचर अपरेटिभसित आरोपीले भिन्न-भिन्नै सोशल मीडिया प्लेटफर्मको माध्यमबाट च्याट गर्ने गर्थ्यो उसको पहिचान आरूषि शर्माको रूपमा भएको छ। कोलकाता आउनअघि झा लामो समयसम्म दिल्लीमा बसेका थिए जहाँ उसले महत्वपूर्ण रक्षा प्रतिष्ठानहरूको तस्वीर लिएको थियो।
-हिस