२९ अगस्तः न्यूजील्याण्ड क्रिकेट बोर्डले सीमित ओभरहरूका कप्तान केन विलियम्सनलाई अक्टोबरमा शुरु हुने आईसीसी वनडे वर्ल्ड कप २०२३-को निम्ति आफ्नो फिटनेस साबित गर्न २ हप्ताको समय दिएको छ। न्यूजील्याण्ड क्रिकेट टीमका मुख्य प्रशिक्षक ग्यारी स्टीडले यस्तो जानकारी दिएका छन्। स्टीडले भने, हामी लगभग २ हप्तामा टीमको घोषणा गर्नेछौं। हामी केनलाई त्यस समयको भरपूर उपयोग गर्ने मौका दिनेछौं। उनले आफ्नो पूरा ध्यान चोटमुक्त हुने प्रक्रियामा लगाएका छन्। उनले नेट्समा ब्याटिंग अभ्यास पनि शुरु गरेका छन्, जुन सकारात्मक संकेत हो। उनले असल प्रगति गरिरहेका छन् तर अहिले पनि धेरै काम बाँकी छ। उनले टीमको निम्ति आवश्यक स्तरसम्म पुग्नु पर्नेछ। उल्लेखनीय छ, गत अप्रेल महिना इण्डियन प्रीमियर लीगमा गुजरात टाइटन्सको तर्फबाट खेल्दा विलियम्सनको दाहिने घुँड़ामा चोट लागेको थियो। त्यस चोटले गर्दा उनले सर्जरी गराउनु परेको थियो। विलियम्सनले न्यूजील्याण्डको निम्ति १६१ वटा वनडे म्याचमा ४७.८-को औसतले ६,५५४ रन बनाएका छन्। उनले कप्तानीमा न्यूजील्याण्ड २०१९-को वर्ल्ड कपमा उपविजेता रहेको थियो। यस साल भारतमा हुने वर्ल्ड कपमा कीवि टीमले ५ अक्टोबरमा खेलिने उद्घाटन म्याचमा गत च्याम्पियन ईंग्ल्याण्डको सामना गर्नेछ। स्टीडले भने, हामी केनलाई निश्चित रूपले वर्ल्ड कपमा देख्न चाहन्छौं तर भावनामा बहेर हतार गर्नु पनि उचित हुनेछैन। हामीले उनलाई पूरा करियरलाई ध्यानमा राख्नु पर्नेछ।