२९ अगस्तः वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपको ज्याभलिन थ्रो स्पर्धामा स्वर्ण पदक जितेपछि नीरज चोपड़ा चर्चाको केन्द्र बनेका छन्। उनी यस प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो भारतीय हुन्। प्रतियोगिता शुरु हुन अघिदेखि नै नीरजबाट यस्तै प्रदर्शनको आशा गरिएको थियो अनि उनले आफ्ना प्रशंसकहरूकाई निराश गरेनन्। अहिले नीरज देशका सबैभन्दा लोकप्रिय एथलीट हुन्। उनी कसरी देशको सबैभन्दा लोकप्रिय एथलीट बने भन्ने विषयमा यहाँ चर्चा गरिँदैछ।
एउटा सामान्य परिवारमा जन्मिएका नीरजले केवल फिटनेसको निम्ति भाला फ्याँक्न शुरु गरेका थिए। ज्याभलिन थ्रो खेलमा असल प्रदर्शनले गर्दा उनलाई यस खेललाई करियर बनाउने सल्लाह दिइएको थियो। नीरजले पनि त्यही गरेर ज्याभलिन थ्रो प्रतियोगिताहरूमा हिस्सा लिन थाले। हुने बिरुवाको चिल्लो पात भने झैं नीरजले कलिलो उमेरमै आफ्नो छाप छोड़े। यसको शुरुवात उनले २०१६-मा दक्षिण एशियाई खेलहरूमा स्वर्ण पदक जितेर गरे। त्यसपछि २०१७-मा उनले एशियन च्याम्पियनशीपमा स्वर्ण पदक जिते। यसरी उनले एशियन गेम्स र कमनवेल्थ गेम्समा २ वटा स्वर्ण पदक जिते। नीरज चोपड़ाको नाम एथलेटिक्स जगतमा चर्चाको केन्द्र बने पनि भारतमा चाहिँ धेरैलाई उनको बारेमा थाहा थिएन कारण ज्याभलिन थ्रो देशको लोकप्रिय खेलहरूमा सामेल छैन।
नीरजले २०२०-को टोक्यो ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास रचेका थिए। त्यसपछि चाहिँ देशका हरेक खेलप्रेमीले उनको उपलब्धिलाई स्वीकार गरे अनि उनी रातारात देशका लोकप्रिय एथलीटहरूमा सामेल भए। नीरजले त्यतिनै सन्तोष मानेनन्। उनले कठोर मेहनत गर्दै २०२२-मा डायमण्ड लीग स्वर्ण र वर्ल्ड च्याम्पियनशीपमा रजत पदक जिते। यसपाली उनले हंगेरीको राजधानी बुडापेस्टमा भएको वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक जितेर इतिहास रचे। यस खास उपलब्धिले उनको लोकप्रियतालाई शिखरमा पुऱ्याएको छ। खेलमा नीरजको व्यक्तिगत सर्वश्रेष्ठ प्रदर्शन ८९.९४ मीटर रहेको छ अनि उनको आउँदो लक्ष्य ९० मीटरको आँकड़ा पार गर्ने रहेको छ।