कोलकाता: जापानका पूर्व प्रधानमन्त्री शिंजो आबेको निधनका कारण देशमा घोषित राष्ट्रिय शोकलाई ध्यानमा राख्दै एनडीएको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मुको शनिबार प्रस्तावित बङ्गाल भ्रमण स्थगित गरिएको छ। अब उनको भ्रमणलाई पुनर्निर्धारित गरिने सम्भावना छ। मुर्मुले १८ जुलाईमा हुने राष्ट्रपति चुनाउको निम्ति सांसद र विधायकहरूको समर्थन माग्न विभिन्न राज्यहरूको भ्रमण गरिरहेकी छन्। बङ्गाल भाजपाले यस विषयमा जयान जारी गरेर जापानका पूर्व प्रधानमन्त्री शिंजो आबेको सम्मानमा ९ जुलाई राष्ट्रिय शोक पालन गरिने बताएको छ। यस कारण, एनडीएको राष्ट्रपति पदकी उम्मेदवार द्रौपदी मुर्मुको ९ जुलाईमा निर्धारित सबै कार्यक्रम रद्द गरिएको छ।
भाजपाका एक वरिष्ठ नेताले भने, मुर्मु शनिवार नयाँ दिल्लीमा रहनेछन्। उनको कोलकाता यात्रा पछि पुनर्निर्धारित गरिने छ। मुर्मुले शनिबार दिउॅंसो कोलकाताको न्यू टाउन क्षेत्रमा एउटा होटलमा भाजपा सांसद र विधायकहरूलाई भेट्ने कार्यक्रम थियो। जापानको सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका ६७ वर्षीय आबेको शुक्रबार पश्चिम जापानी शहर नारामा गोली हानेर हत्या गरिएको थियो।