गान्तोक: नाम्ची महाविद्यालयका छात्र नेता स्व. पदम गुरुङको हत्याको जाँचलाई लिएर राज्य सरकारले गठन गरेको एक सदस्यीय न्यायिक जाँच समितिले अनुसंधान पूरा गरेको छ। यस अवधि जाँच समितिले कूल एक सयजना प्रत्यक्षदर्शीको मौखिक तथा लिखित बयान लिएको छ भने १६७ वटा दस्तावेज पनि रेकर्डमा लिएको छ। यस अतिरिक्त जाँच समितिद्वारा जारि गरिएको सूचनाको आधारमा विभिन्न सङ्घ संस्था र राजनीतिक पार्टीले पनि आ-आफ्नो प्रतिवेदन बुझाएको छ।
उल्लेखनीय छ, नाम्ची महाविद्यालयको छात्र परिषदका अध्यक्ष पदम गुरुङको रहस्यमय निधनलाई लिएर जाँच गराउन राज्य सरकारले १२ जुलाईको दिन सिक्किम उच्च न्यायालयका पूर्व मुख्य न्यायाधिश एनके जैनको अध्यक्षतामा एक सदस्यीय न्यायिक जाँच समिति गठन गरेको छ। समितिले सबै बयान, सबुत र प्रतिवेदनलाई आधार गरेर रिपोर्ट तयार पारी चाँड़ै राज्य सरकारलाई बुझाउने बताइएको छ।