गान्तोक: छिमेकी राष्ट्र नेपालमा आयोजित रियालिटी शो मेरो भोइस यूनिभर्स र मेरो डान्स यूनिभर्स पछि अर्को रियालिटी शो याकथुङ स्टार सिजन वान-मा पनि सिक्किमका कलाकरहरूले वर्चस्व रह्यो। प्रतियोगितामा सिक्किमका कलाकारले पहिलो अनि तेस्रो पुरस्कार जितेका छन्। नेपालको विरतामोड़मा सम्पन्न सुब्बा भाषाको गायन प्रतियोगिता याकथुङ स्टार सिजन वान-को विजेता दक्षिण सिक्किमको पोकलक कामराङ समष्टिअन्तर्गत दोङ निवासी सुश्री अञ्जना नाल्बो बनेकी छन्। यसरी नै सिक्किमकै छोरा ऐतहाङ लिम्बू दोस्रो उपविजेता बनेका छन्।
सिक्किमे कलाकारहरूको यस उपलब्धीलाई लिएर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि खुशी व्यक्त गर्दै बधाई दिएका छन्। अर्कोतिर भोली विजयी कलाकारहरू घर फर्कने क्रममा राज्यको प्रवेशद्वार रम्फूमा स्वागत जनाउन अन्यहरूको साथमा स्वंय मुख्यमन्त्री उपस्थित रहने बताइएको छ।
स्मरण रहोस, यस अघि अन्तर्राष्ट्रिय स्तरको गायन प्रतियोगिता मेरो भोइस यूनिभर्समा सिक्किमका कलाकारद्वय प्रितम राई र शिशिर ठटाल क्रमैले प्रथम अनि दोस्रो भएका थिए भने मेरो डान्स यूनिभर्समा मिङ्गमा डी लेप्चा दोस्रो उपविजेता बनेका थिए। उनीहरूलाई पनि स्वागत जनाउन मुख्यमन्त्री प्रेम सिंह तामाङ रम्फू पुगेका थिए।