गान्तोकः पर्यटन क्षेत्रमा व्यापक सुधारको लक्ष्यका साथ सिक्किम राज्य पर्यटन विभागले विभिन्न पहलहरू गरिरहेको बताइएको छ। सोमवार तादोङस्थित पर्यटन विभागको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विभागका अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तव र सचिव प्रकाश छेत्रीले पर्यटन क्षेत्रको सुधारका लागि विभागले शुरु गरेका विशेष पहलहरूबारे जानकारी गराए। पर्यटन विकासका लागि राज्यमा यतायात सम्पर्क सुदृढ गराउन आवश्यक रहेको विषयलाई ध्यानमा राख्दै विभागले सिक्किममा ६ वटा हेलिपोड निर्माण गर्नुपर्ने प्रस्ताव केन्द्र सरकार समक्ष राखेको अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तवले जानकारी दिए। हेलिपेडभन्दा हेलिपोड केही भिन्न हुने र यसमा पर्यटकका लागि अतिरिक्त सुविधा रहने भएकाले ६ वटा हेलिपोड निर्माण हुनसके पर्यटन क्षेत्रमा सुधार आउने उनले विश्वास व्यक्त गरे।
विभागकै पहलमा लामो समयदेखि बन्द भएको कोलकाता पाकिम हवाई सेवा आगामी ५ सेप्टेम्बरदेखि शुरु हुने जानकारी गराउँदै पाकिममा स्पाइसजेट बाहेक अन्य हवाई सेवा बारे पनि केन्द्र सरकारमा पहल भएको श्रीवास्तवले जानकारी दिएका छन्। पर्यटकहरूको सूचना सञ्चारका लागि १७ वटा सूचना केन्द्रहरूलाई टुरिस्ट फेसिलिटेसन सेन्टरका रूपमा विकसित गरिने पनि उनले जानकारी दिएका छन्। अन्तरराष्ट्रिय पर्यटकको आगमन सिक्किममा राम्रो रहेका कारण पाकिमबाट अन्तरराष्ट्रिय उडान शुरु गर्नुपर्ने विषयमा पनि केन्द्र सरकारलाई अनुरोध गरिएको उनले बताए। राज्यमा ट्याक्सी वाहनहरूले पर्यटकलाई अत्याधिक भाडा असुल गरेका सिकायतहरू विभागले लगातार प्राप्त गरिरहेको विषयमा बोल्दै अतिरिक्त मुख्य सचिव एमएल श्रीवास्तवले यसबारे धेरै पल्ट हितधारकहरूसँग विभागले बैठक गरिसकेको जानकारी दिएका छन्। सम्बन्धित पक्षको सहयोगमा पर्यटन विभाग एउटा क्यूआर कोड बनाउने पक्षमा रहेको उनले जानकारी दिए।
विभागले बनाएको क्यूआर कोडमा स्क्यान गर्दा सबै स्थानको ट्याक्सी भाडा पर्यटकहरूले जान्न पाउने सुविधा समावेश गरिने र यो कोड सबै ट्याक्सिमा लगाउन अनिवार्य गराइने पहल चलिरहेको उनले बताएका छन्। यस बाहेक पर्यटकको माध्यमबाट हुने अनुप्रवेशलाई रोक्न विभागले उनीहरूको राज्यमा आगमन र प्रस्थानलाई र्ट्याक गर्ने प्रणालीको विकासका लागि पनि काम गरिरहेको जानकारी दिएका छन्। डोनर मन्त्रालय, केन्द्र सरकारको स्वदेश दर्शन, प्रसाद योजना लगायत अन्य माध्यमबाट राज्यमा पर्यटन पूर्वाधार विकासका लागि विभागले धेरै योजनालाई अघि बडाएको विभागका सचिव प्रकाश छेत्रीले जानकारी दिएका छन्। उत्तरे नजिकमा अवस्थित सिङिसोर पुललाई ग्लासको पुल बनाउन ५२ करोड रुपियाँको योजना केन्द्र सरकारबाट अनुमोदन भएको उनले जानकारी दिए।
भालेढुङ्गामा २२० करोड लागतको स्काईवाक परियोजना विकासको लागि पनि काम भइरहेको उनले बताएका छन्। यस बाहेक भाइब्रेन्ट भिलेज प्रोग्राम अन्तर्गत कन्चनजङ्घा बेस क्याम्प तालिम केन्द्र निर्माण गर्ने, राज्यमा मेघा होमस्टे निर्माण गर्ने, पर्यटन क्षेत्रमा राज्य बाहिरबाट निवेश गराउने बारे केन्द्र सरकार समक्ष पहल भइरहेको विभागले जानकारी दिएको छ। अर्कोतर्फ पर्यटक पुलिस गठन गर्नुपर्ने बारेमा पनि सिक्किम सरकारलाई प्रस्ताव दिइएको विभागले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।