गान्तोकः सालबारी आधारित गैर सरकारी संस्था छिमेकी र सिक्किम विश्वविद्यालय नेपाली विभागको संयुक्त आयोजनामा ’साहित्य अनि उबुन्टु दर्शन’ विषयमा एउटा विमर्श कार्यक्रम सोमबार सम्पन्न भयो। ५ माइल तादोङस्थित काभेरी भवनमा सम्पन्न कार्यक्रमको सभा अध्यक्षता सिक्किम विश्वविद्यालय नेपाली विभागकी प्राध्यापक डा. पुष्प शर्माले गरेकी थिइन्।
साहित्य र उबुन्टु विषयमा सम्भवतः सिक्किमै पहिलोचोटि भएको यस विमर्श कार्यक्रममा वक्ताका रूपमा सिक्किम विश्वविद्यालय नेपाली विभागकी अध्यक्ष प्राध्यापक डा. कविता लामा, नेपाली विभागबाटै प्राध्यापक डा देवचन्द्र सुब्बा अनि साहित्यकार प्रवीण राई ’जुमेली’ उपस्थित थिए भने सहजकर्ताको भूमिका शोधार्थी एवम् पत्रकार एनबी घिमिरेले निर्वाह गरेका थिए। कार्यक्रमको शुरुमा छिमेकी संस्थाका प्रतिनिधि अभयरत्न प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। संस्थाले सामाजिक स्वस्थ र सद्भावनाको विकासका लागि काम गरिरहेको र अफ्रिकी संस्कृति र परम्परामा विकसित उबुन्टुले पनि सामाजिक सद्भावना र मानिस-मानिसबिचको अन्तरनिर्भरता र अन्तरसम्बन्धमाथि जोड दिने हुँदा यस दर्शनमाथि विमर्श कार्यक्रम आयोजना गरेको उनले बताए।
प्यानल छलफलमा उबुन्टु दर्शनको परिचय, यसको सिद्धान्त र मूल्य, पृष्ठभूमि, सामाजिक प्रभाव र नेपाली अनि समग्र साहित्यमा यसले पारेको प्रभावमाथि गहन छलफल भयो। विमर्शको अन्तिम चरणमा, उपस्थित अतिथि र विद्यार्थीहरूले अनि अन्तरक्रियामा भाग लिएका थिए। समग्र कार्यक्रमको सञ्चालन नेपाली विभागका प्राध्यापक डा. सुमन बान्तवाले गरेका थिए भने सभा अध्यक्षको सम्भाषणपछि कार्यक्रम समापन भएको थियो। कार्यक्रममा सिक्किम विश्वविद्यालय नेपाली विभाग, नरबहादुर भण्डारी डिग्री महाविद्यालय, कञ्चनजङ्घा राज्य विश्वविद्यालय आदिबाट प्राध्यापकगण र विद्यार्थी/शोधार्थीहरूको उपस्थिति थियो भने चिया कविता गान्तोक, नेपाली साहित्य परिषद लगायत साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।