गान्तोकः भारतले १ दिसम्बर, २०२२ मा आधिकारिक रूपमा एक वर्ष लामो जी२० अध्यक्षता लिएको थियो जुन ३० नोभेम्बर, २०२३ सम्म जारी रहनेछ। भारतको अध्यक्षताका मुख्य विषयवस्तु र प्राथमिकताहरूलाई रेखाङ्कित गर्दै प्रधानमन्त्री मोदीले जी२० ले शान्ति तथा सद्भावको पक्षमा बलियो सन्देश दिनुपर्ने कुरालाई जोड दिए तथा शान्ति एवं सुरक्षा बिना भावी पुस्ताले आर्थिक वृद्धि वा प्राविधिक नवीनताको फाइदा उठाउन नसक्ने कुरामा बल दिए। जी२० को एक भागको रूपमा युनिभर्सिटी कनेक्ट कार्यक्रम २८ अगस्त, २०२३ मा सिक्किम विश्वविद्यालयमा विदेश मन्त्रालय र विकासशील देशहरूको लागि अनुसन्धान तथा सूचना प्रणाली (आरआईएस) को सहयोगमा युवा मस्तिष्कलाई संलग्न गर्ने व्याख्यान शृङ्खला आयोजित गरिएको थियो। उक्त जानकारी पीआईबीले प्रेस विज्ञप्तिमा दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत प्रीति शरण, पूर्व सचिव, विदेश मन्त्रालय, भारत सरकार थिइन्। राजदूत शरनले भारत जी२० प्राथमिकताहरूमा विशेष व्याख्यान दिइन्। आफ्नो व्याख्यानमा शरनले अन्य राष्ट्रहरूसँग भारतको साझा सम्बन्ध र भारतको महाशक्तिको रूपमा उदाउने सम्भावनाहरूबारे प्रकाश पारिन्। प्रोफेसर चिन्तामणि महापात्रा, संस्थापक तथा मानद अध्यक्ष, कलिङ्ग इन्स्टिच्युट अफ् इण्डो-प्यासिफिक स्टडिज, भुवनेश्वर पनि विशेष अतिथिको रूपमा उपस्थित रहेर एक विशेष व्याख्यान दिए, जहाँ उनले भारतले विभिन्न मोर्चाहरूमा विश्वव्यापी अगुवाका रूपमा उभिन लागिरहेका विभिन्न पहलहरूको बारेमा प्रकाश पारे। उनले भारतलाई आशा, सद्भाव र शान्तिको वकालत गर्ने अगुवाका रूपमा हेरिएको पनि बताए।
१४ अगस्त, २०२३ र १८ अगस्त, २०२३ बीच विश्वविद्यालयमा विभिन्न पूर्व-कार्यक्रम गतिविधिहरू बहस, निबन्ध लेखन, प्रश्नोत्तरी र पोस्टर बनाउने प्रतियोगिता आयोजना गरियो। सिक्किम विश्वविद्यालय, एसआरएम विश्वविद्यालय, तादोङ कलेज, सरकारी कानून कलेज, बुर्तुकका विद्यार्थीहरूले भाग लिए। व्याख्यान शृङ्खलाको अन्त्यमा विजेता र सहभागीहरूलाई पुरस्कार वितरण गरिएको थियो। उपकुलपति प्रा. अविनाश खरेले आफ्नो सम्बोधनमा जी२० ले आर्थिक प्रगतिदेखि विज्ञान र प्रविधि, अन्तरिक्ष, नवप्रवर्तन र स्टार्ट-अपहरू हरेक क्षेत्रमा उत्कृष्टताको नयाँ उँचाइमा पुग्ने भएकाले भारतलाई आफ्नो गौरव र विविधतामा देखाउने अवसर पनि हुने बताए।