रोजगार मेला प्रधानमन्त्रीको रोजगारी सृजनाको प्रतिबद्धतालाई पूरा गर्ने दिशामा एक कदमः केन्द्रयी मन्त्री निशिथ प्रमाणिक
गान्तोक: केन्द्रीय गृह मामिला, युवा तथा खेलकुद मामिला राज्यमन्त्री निशिथ प्रमाणिकले गान्तोकमा रोजगार मेलाको आठौँ किस्ताअन्तर्गत सिक्किम, पश्चिम बङ्गाल र बिहारका नयाँ नियुक्तिहरूलाई १०४ नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। गान्तोकमा रोजगार मेला भारत तिब्बत सीमा पुलिसले सशस्त्र सीमा बलको समन्वयमा आयोजना गरेको थियो। उल्लेखनीय छ, ५१,००० भन्दा बढी नवनियुक्तहरू मध्ये सात सिक्किम, ७७ र २७ पश्चिम बङ्गाल र बिहारका छन्। सिक्किमका नवनियुक्तहरूले आज गान्तोकको रोजगार मेलामा नियुक्ति पत्र प्राप्त गरे।
गान्तोकमा आयोजित रोजगार मेलालाई सम्बोधन गर्दै गृह, युवा तथा खेलकुद मामिला राज्यमन्त्री निशिथ प्रमाणिकले प्रधानमन्त्रीको सपनालाई शिरोपर गर्दै ‘अमृत रक्षक’ बनेर देश र देशवासीको रक्षा गर्न नवनियुक्तहरूलाई आग्रह गरे। रोजगार मेला प्रधानमन्त्रीले रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता पूरा गर्ने पाइला भएको मन्त्री प्रमाणितले बताए। रोजगार मेलाले थप रोजगारी सृजनामा उत्प्रेरकको रूपमा काम गर्ने र युवाहरूलाई सशक्तिकरण तथा राष्ट्रिय विकासमा सहभागिताका लागि अर्थपूर्ण अवसर प्रदान गर्ने उनको विश्वास छ। उनले यस अवसरमा उपस्थित नवनियुक्तहरूलाई अर्धसैनिक बलको रूपमा सिक्ने मनोवृत्ति कायम राख्न प्रधानमन्त्रीको आह्वानलाई पालना गर्न आग्रह गरे र आईजीओटी कर्मयोगी पोर्टलमा उपलब्ध ६०० भन्दा बढी पाठ्यक्रमहरूबारे प्रकाश पारे। उनले उचित समर्पण र कर्तव्य निर्वाहका लागि आफूलाई फिट राख्ने मन्त्र अपनाउन पनि आग्रह गरे। उनले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आईटीबीपी र एसएसबीप्रति खुशी व्यक्त गरे।
उल्लेखनीय छ, देशका ४५ स्थानमा रोजगार मेला आयोजना गरिएको थियो। यस रोजगार मेला कार्यक्रममार्फत गृह मन्त्रालयले विभिन्न केन्द्रीय सशस्त्र पुलिस बल (सीएपीएफ) जस्तै केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ), सीमा सुरक्षा बल (बीएसएफ), शास्त्र सीमा बल (एसएसबी), असम राइफल्स, केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) र नार्कोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) साथै दिल्ली पुलिसमा कर्मचारी भर्ती गर्दैछ। देशभरिबाट छनोट भएका नयाँ भर्नाहरूले गृह मन्त्रालय अन्तर्गतका विभिन्न संस्थामा कन्स्टेबल (जेनरल ड्युटी), उपनिरीक्षक (जेनरल ड्युटी) र गैर-जेनरल ड्युटी क्याडर पदमा भर्ना हुनेछन्।
कार्यक्रममा सिक्किमका लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बा, तादोङ समष्टिका विधायक श्री जीटी ढुङ्गेल र केन्द्र तथा राज्य सरकारका अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित रहेका थिए।