खरसाङ: खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने दुई नम्बर बस्ती-कोप्चेगाँउ जनकल्याण संगठन अनि दुई नम्बर बस्ती-कोप्चे गाँउका स्वनिर्भर दलहरूका संयुक्त आयोजनामा सिलगढीको मतिगडामा भएको गोर्खे चेलीको निर्ममतापूर्वक हत्याको विरोधमा रैली निकालिएको छ। उक्त रैली दुई नम्बर बस्तीको कोप्चे गाँउदेखि दुई नम्बरको फूलबारी गोलाईसम्म प्रतिवाद जुलुस आयोजन गरिएको थियो। उक्त जुलुस पथ सभा र श्रध्दाञ्जली सभामा परिणत भएको थियो। यस प्रतिवाद जुलुसलाई जनकल्याण संगठनका सचिव हेम सुब्बाले सञ्चालन गरेका थिए। यसको साथै यस जुलुसलाई ज्योति भट्टराई, जनकल्याण संगठनका सभापति युवराज थापा अनि स्व निर्भर दलबाट जुनु सार्कीले सम्बोधन गरेका थिए। जुलुसमा सहभागी भएकाहरुले हत्यारालाई चाँडोभन्दा चाँडो फाँसीको सजाय दिइयोस् भन्ने मांग राखेका थिए।