२७ अगस्तः भारतका अनुभवी ब्याडमिण्टन खेलाड़ी एचएस प्रणयको वर्ल्ड च्याम्पियनशीपको फाइनलमा पुग्ने सपना साकार हुन सकेन। उनले शनिवार राति डेनमार्कको राजधानी कोपेनहेगनमा खेलिएको सेमिफाइनलमा थाईल्याण्डका कुनलावत वितिदसर्न विरुद्ध हारको सामना गर्नु पऱ्यो। यसरी भारतीय खेलाड़ीले काँस्य पदकको साथ चित्त बुझाउनु पऱ्यो। वितिदसर्नले तीन गेमसम्म चलेको रोमाञ्चक म्याचमा प्रणयलाई १८-२१, २१-१३, २१-१४-ले पराजित गरे। वर्ल्ड च्याम्पियनशीपमा प्रणयको यो पहिलो पदक हो। भारतका ३१ वर्षीय खेलाड़ीले आफ्नो करियरमा वितिदसर्नलाई अहिलेसम्म पराजित गर्न सकेका छैनन्। यी दुई खेलाड़ीबीच अहिलेसम्म दुईपल्ट भिड़न्त भइसकेको छ अनि दुवैपल्ट थाईल्याण्डका खेलाड़ी विजयी भएका छन्। यसअघि प्रणयले शुक्रवार विश्वका नम्बर एक खेलाड़ी डेनमार्कका भिक्टर एक्सेलसनलाई पराजित गरी ठूलो उलटफेर गरेका थिए। यसपाली सेमिफाइलमा हारे पनि प्रणय वर्ल्ड च्याम्पियनशीपमा पदक जित्ने भारतका पाँचौं पुरुष एकल खेलाड़ी बने। पुरुष एकलमा यसअघि किदाम्बी श्रीकान्त (रजत), लक्ष्य सेन (काँस्य), बी साई प्रणीत (काँस्य) र प्रकाश पादुकोण (काँस्य)-ले पदक जितेका थिए।