गान्तोक: पश्चिम सिक्किमको मानेबुङ देन्ताम समष्टिअन्तर्गत लोवर लुङ्जिकमा पैह्रोले चपेटामा परेर एक ४ वर्षीय बालकको मृत्यु भएको छ। घट्ना आज बिहान ६-३० बजीको हो। घट्नाक्रमअनुसार लगातार परेको वर्षाको कारण स्थानीय नरबहादुर पन्त (छेत्री) को घरमाथिबाट पैह्रो खसेर भित्ता भत्काइ ढुङ्गा माटो कोठाभित्र पसेको थियो। यसरी पैह्रो घरभित्र छिर्दा कोठामा सुतिरहेका चार वर्षीय बालकको मृत्यु भएको हो। बालकको आमा भने भाग्यले बाँचेको बताइएको छ। त्यस समय बाबु नरबहादुर पन्त गाई गोठमा थिए।

घट्ना बारे जानकारी पाएपछि गेजिङका महकूमा अधिकारी सन्तोष कुमार आले घट्नास्थलमा पुगेका थिए। पीड़ित परिवारलाई जिल्ला प्रशासनको पक्षमा राहत प्रदान गरिने उनले बताएका छन्। यसरी नै सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागका सल्लाहकार विरेद्न्र तामलिङ, गेजिङ थानाका प्रभारी पीआइ रोशन गुरुङ, अतिरिक्त पुलिस अधिक्षक विजय सुब्बा आदि पनि घट्नास्थलमा पुगेका थिए। उपस्थित सबैको सहयोगमा पीड़ित परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने बालकको शवलाई पोस्टमर्टमको निम्ति पठाइएको छ।