२०१६ मा गएको पैह्रो अहिलेसम्म पनि मरमत्ति नगरिएको गुनासो
खरसाङ: तीनधारेको भानुग्राममा २०१६ मा नै गएको पैह्रो अहिलेसम्म पनि नबनिएको गुनासो रहेको छ। उक्त पैह्रो मरमत्ति नभएपछि यसपाली फेरि उक्त स्थानमा नै पैह्रो गएको बताइएको छ। तीनधारेको भानुग्रामस्थित स्थानीय दिपक प्रधानको घरमुनि यसपाली फेरि पनि पैह्रो गएको छ। यहाँ गएको पुरानो पैह्रो सम्बन्धित निकायको लापरवाहीले बनिन नसकेको जसमा यसले घर तान्न सक्छ भनी दिपक प्रधानले बताएका छन्। उनले उक्त पैह्रो मरमत्तिको लागि २०१६ मा नै सिञ्चाई विभाग र पञ्चायतलाई लेखेर दिए पनि अहिलेसम्म परिणाम भने शून्य रहेको उनले बताएका छन्। उनले भनेका छन् -‘२०१६ मा गएको पैह्रो मरमत्तिको लागि २०१६ मा नै लेखेर दिए पनि अहिलेसम्म पनि किन पैह्रो मरमत्ति हुँदैन पहाडको विकास गर्नेहरुलाई मेरो सोधाई छ।’ उनले बताए अनुसार उनको घरमुनिबाट यसपाली फेरि पनि पैह्रो गएकोले घर तान्ने स्थितिमा छ र घर पैह्रोले तानेको खण्डमा को जिम्मेवारी हुन्छ भनी प्रश्न गरेका छन्। उनले यसपालीको पैह्रो निरीक्षण गर्नलाई क्षेत्रीय सभासद नवराज छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान आएको जानकारी गराएका छन्। त्यसरी नै पञ्चायत सदस्यहरू योगराज प्रधान र सुष्मिता गजमेर आएको बताएका छन्।