गान्तोकः निरन्तर परेको वर्षापछि आज बिहान गेजिङ जिल्लाको सरदुङ लुङजिङ ग्राम पञ्चायत अन्तर्गत लोवर लुङजिकमा पैह्रोको चपेटमा परेर एक चार वर्षीय बालकले ज्यान गुमाएका छन्। प्राप्त जानकारी अनुसार, मानेबुङ-देन्ताम क्षेत्रको लोवर लुङ्जिकमा नर बहादुर (पन्त) छेत्रीको घरलाई पैह्रोको चपेटामा आउँदा उनको चार वर्षीय बालक अभियान छेत्रीले घटनास्थलमै ज्यान गुमाएका छन्। घटनाको समय नानी सुतिरहेका थिए। घरका अन्य सदस्यहरू भने उठेर आफ्नो दैनिक कामकाजमा लागिसकेका थिए। यस हृदयविदारक खबर फैलिनुसाथ स्थानीय गाउँलेहरु घटना स्थलमा भेला भएर उद्धार कार्यमा जुटेका थिए। तर सानो चार वर्षे बालक भने बाँच्न सकेनन्।
यस घटनाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो शोक व्यक्त गरेका छन्। उनले मृतक बालकको आत्माशान्तिको प्रार्थनासँगै यो दुःखद समयमा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्। पैह्रोले घरको भित्ता भत्काएर सुतिरहेका बालकको ज्यान लिनु खुबै मार्मिक घटना रहेको बताएका छन्। पैह्रोले घरको दुईवटा कोठालाई क्षति पुऱ्याएको छ। घटनाबारे मुख्यमन्त्री तामाङले तत्कालै गेजिङका जिल्लापाललाई स्थितिबारे गम्भीरतापूर्वक ध्यान दिनुपर्ने निर्देश दिएको मुख्यमन्त्रीले बताएका छन्। पीड़ित परिवारमा आइपरेको यस संकटको घड़ीमा सबै आवश्यक सहयोग पुऱ्याउन मुख्यमन्त्रीले जिल्लापाललाई निर्देश दिएका थिए। जिल्ला प्रशासनको तर्फबाट पीड़ित परिवारलाई रु. ४ लाख अनुदानसँगै अन्य आवश्यक सहयोग प्रदान गरियो भने मुख्यमन्त्री राहत कोषमार्फत पीड़ित परिवारलाई थप रु. ५ लाख दिइने मुख्यमन्त्रीले जानकारी गराएका छन्। यस दुःखद घड़ीमा पीड़ित परिवारको साथमा राज्य सरकार रहेको आश्वस्त पार्दै मुख्यमन्त्री तामाङले जन, धनको क्षतिले पीड़ित परिवारलाई सबै आवश्यक सहयोग पुऱ्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।