मल्लीः मल्लीडाँडा बहुउद्देशीय सहकारी समितिको अध्यक्ष हुँदा कृषकहरूको नाममा लोन अनुमोदन गरेर आर्थिक हिनामिना गरेको आरोप लगाउँदै विभिन्न मानिसहरूले गरेका एफआईआरमाथि आज सिटिजन एक्सन पार्टीका मुख्य समन्वयक गणेश राईले आफ्नो बयान दर्ता गराएका छन्। विभिन्न एफआईआरलाई आधार बनाएर मल्ली पुलिसले गणेश राईलाई बयान दर्ता गराउन आज थाना बोलाएको थियो। बिहान साडे ११ बजी मल्ली थाना पसेका गणेश राईलाई मल्ली पुलिसले पाँच घण्टाभन्दा अधिक समय लगाएर केरकार गरेपछि छोडिदिएको छ। आफ्नो बयान दर्ता गराएर थानाबाट निस्किएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै गणेश राईले मल्ली पुलिसद्वारा सोधिएका सबै प्रश्नको जवाफ दिएको बताएका छन्। सरकारले फर्जी मुद्दा लगाएर आफूलाई सताउने काम गरेको आरोप लगाउँदै उनले पुलिस प्रशासनमाथि पूर्ण विश्वास रहेको र आफू निर्दोष साबित हुने पनि बताए।
आज दोस्रोपल्ट बयान दर्ता गराउन थाना गएका गणेश राईले पुलिसद्वारा सोधिएका सबै प्रश्नहरूको जवाफ दिएको बताए। यस प्रकारका एफआईआर लगातार आफू विरुद्ध सरकारले गराइरहनेछ भन्दै उनले सबैको जवाफ दिन तयार रहेको बताए। सिक्किमको नीति र कार्यक्रमको आधारमा नभएर डर र त्रासको राजनीति भएका कारण सिटिजन एक्सन पार्टीमाथि सरकारले लगातार दबाउको काम गर्नेछ भन्दै आफ्नो पार्टीको सरकार गठन नभएसम्म आफू र पार्टीलाई सताउने काम निरन्तर भइरहने गणेश दाबी गरे।
बयान दर्ता गरेपछि गणेश राई मल्लीमा पार्टी समर्थकहरूलाई सम्बोधन पनि गरे। आफू बेदाग रहेको र यसलाई अदालतबाट साबित गरिछोड्ने बताउँदै उनले विभिन्न क्षेत्रहरुबाट आएका पार्टीका समर्थकलाई धन्यवाद दिए। उनले भने, ‘म सबैलाई भन्न चाहन्छु म बेदाग छु र अहिलेसम्म गरेको राजनीति इमानदारीताको साथमा गरेको छु। यसै इमानदारीताको राजनीतिलाई देखेर सिटिजन एक्सन पार्टीलाई कसरी बदनाम गराउनु सकिन्छ, जनतामाझ बढ्दै गएको लोकप्रियतालाई कसरी बर्बाद पार्न सकिन्छ भन्ने सोच लिएर यो एफआईआर गरेर बारम्बार दग्दी दिने कार्य गर्दैछ।’ समर्थकहरूलाई सम्बोधन गर्दै सिक्किम लुट्नेहरू, सिक्किमलाई लुटेर खोक्रो बनाउनेहरुको उल्टा गन्ती शुरु भएको छ भने। उनले थप भने, सिक्किम आमालाई लुट्नेहरू अत्तालिएका छन्, हतास भएका छन्, त्यसैले हाम्रा नेतृत्वहरू माथी अब अनेकौं केसहरु हुनसक्छ त्यसकारण हामी सबैजना एकजुट हुनुपर्छ।