बीरपाड़ा – मङ्गलबार राती बीरपाड़ा थाना अन्तर्गत पर्ने लङ्कापाड़ा चियाबारीमा दुईजनाबीचको आपसी झगड़ामा एकजना दिकमान राईले चलाएको गोली लाग्दा सङ्गम थापा नामक युवक गम्भीर घाइते बनेको पुलिस सुत्रले जनाएका छन्। मङ्गलाबार राती लङ्कापाड़ा चियाबारीको डीबी लाईनमा गोली चलेको घटनाको जानकारी पाएर बीरपाड़ा थानाको पुलिसबल घटनास्थलमा पुगेर गोली लागेर आघात व्यक्ति सङ्गम थापालाई उद्धार गर्न सफल भएको थियो। गोली चलाउने दिकमान राईलाई पुलिसले घरबाट एउटा माउजर पिस्तोलसहित पक्राउ गर्न सफल भएको जयगाउँ एएसपी कुन्तल ब्यानर्जीले जनाएका छन्।
घटनाबारे कुनै अभियोग थानामा जमा नभए तापनि पुलिसले सुओ मोटो अन्तर्गत मामिला दर्ता गरेको र अभियुक्तलाई अदालतमा पठाइने पुलिस सुत्रले जनाएका छन्। उल्लेखनीय छ, गोली लागेर घाइते बनेको सङ्गम थापा बोके हत्याकाण्डको अभियोगमा जेल बसेर हालै मात्र जमानतमा घर फर्किएको थियो। तर मङ्गलबार राती दिकमान राई र सङ्गम थापाबीच कुनै विवाद हुँदा दिकमान राईले पिस्तोल निकालेर सङ्गम थापामाथि गोली चलाएको थियो भने सो घटनामा सङ्गम थापा गम्भीर घाइते बनेको थियो भने हाल तिनको उपचार सिलगढ़ीमा चलिरहेको पुलिस सुत्रले जनाएका छन्।