खरसाङ: खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तत्वावधानमा पर्जापट्टामाथि कार्यक्रम आयोजना गरियो। अधिवक्ता साथै ट्रेड युनियनका सल्लाहकार तिलकचन्द रोका अनि जीटीए प्रमुख कार्यपालका मुख्य सल्लाहकार अमर लामाले सभालाई सम्बोधन गरेका थिए।
पर्जा पट्टा विषय अन्योलता ल्याएको छ। पट्टा विषय कमानका नेतृत्वहरुलाई पूर्ण रूपले जानकारी दिलाउन आजको कार्यक्रम आयोजना गरिएको पञ्चायत समिति सदस्य साथै ट्रेड युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले सञ्चालनको क्रममा जनाएका छन्। यस अवसरमा अमर लामाले आफ्नो सम्बोधनमा भने, “पट्टा, घरको आमाको नाममा दिइने छ यदि आमा घरको मूल हुन भने। यदि कुनै घरमा घरको आमा छैन भने बाबुको नाममा पट्टा दिइने छ। दुवै भएको घरमा आमा अनि बाबुको संयुक्त नाममा पट्टा दिइनेछ।”
लामाले सबैलाई सचेत गराउँदै भने, “मालिक पक्ष पट्टा दिने पक्षमा छैनन्। जुन दिनदेखि अधिसूचना जारी भयो त्यही दिनदेखि उनीहरू सक्रिय भएका छन्। धेरै कमानमा मालिकका व्यक्तिहरूले नै सर्भे गर्नु रोक लगाउँदैछन्। मालिक पक्ष पट्टाको अधिसूचनामाथि रोक लगाउनु कोर्ट जाने तरखरमा छन्। यदि उनीहरूले कोर्टबाट पट्टा वितरणमाथि रोक लगाए यहाँ कसैले पनि पट्टा पाउने छैनन्।”











