गान्तोक: राज्यका अवकाशप्राप्त कर्मचारीहरूको एउटा महत्त्वपूर्ण सभा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको इन्दिरा बाइपासस्थित मुख्यालयको कन्फरेन्स कक्षामा सम्पन्न भयो। सभाको अध्यक्षता पीडब्लुडीका सेवानिवृत्त सचिव डीके राईले गरेका थिए। परिचयको आदान-प्रदानबाट आरम्भ भएको सभामा उपस्थित अवकाश प्राप्त कर्मचारीहरूले एसडीएफ पार्टीलाई रोज्नको कारण साझा गर्दै एसडीएफ पार्टी र पार्टीका नेता नेता पवन चामलिङको सबल नेतृत्वले मात्र सिक्किम र सिक्किमेली जनताका भाग्य र भविष्य सुरक्षा गर्न सक्ने मत निचोडमा राखे।
सिक्किममा अहिले शासन व्यावस्था लथालिङ्ग भएको, प्रशासन अराजक बनेको, राज्यको आर्थिक स्थिति बर्बाद भएको, सिक्किमेलीहरूको शान्ति-अमनचैन खोसिएको, मानव संसाधनको अवमूल्यन भएको, राज्य र राज्यबासीका अस्मिता, अस्तित्व र अधिकारमाथि अतिक्रमण भएको एसडीएफ पार्टीको अजाको सभाले ठहर गरेको छ। यसका साथै यस अवस्थाबाट सिक्किम राज्यलाई बचाउन राज्यका एकमात्र कुशल, दुरदर्शी र अनुभावी नेता पवन चामलिङको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने पनि सभाले ठहर गरेको छ।
उपस्थित सेवानिवृत्त कर्मचारीहरूले एसडीएफ सरकारको २५ वर्षीय अवधि सिक्किमका लागि स्वर्णीम काल थियो भन्दै त्यस कालमा उनीहरूले पनि सरकारको महत्त्वपूर्ण अङ्ग भएर जनता र राज्यको सेवा पुर्याएको बताए। त्यसैक्रममा त्यस समयको प्रजातान्त्रिक शासन व्यवस्थाको आफूहरूले प्रत्यक्ष अनुभव गरेको र राज्यले हासिल गरेको तरक्की र विकासमा आफूहरूले योगदान पुर्याएको विषय गौरान्वित रहेको पनि उनीहरूले बताए। एसडीएफ पार्टीको २.० को आमूल परिवर्तनको क्रान्तिमा प्रशासकीय अनुभव र दक्षतालाई पार्टीमा सदुपयोग गरी सिक्किम र सिक्किमेली जनताले गुमाएको मान, सम्मान र समृद्धिलाई फर्काइ ल्याउन प्रतिबद्ध बन्ने सर्वसम्मतिसहित सभाले निर्णय लिएको छ।
सभामा विभिन्न आगामी कार्यक्रमहरू सम्बन्धमा महत्त्वपूर्ण प्रस्तावहरू ग्रहण गर्नका साथै अवकाश प्राप्त कर्मचारी प्रकोष्ठको कार्यकारिणी समितिको चयन गरियो।