गान्तोकः विद्या भारती सिक्किमले चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरणको निम्ति सबैमा हार्दिक बधाई व्यक्त गरेको छ। विशेष गरि भारतका महान वैज्ञानिकहरू, प्राद्यापकहरू र सम्पूर्ण इसरो टोलीलाई विद्या भारतीले चन्द्रयान-३ अभियानको सफलताको निम्ति हार्दिक बधाई दिएको छ।
विद्या भारती सिक्किमले जानकारी गराए अनुसार, चन्द्रयान-३ अभियानको निम्ति इसरो टीममा विद्या भारतीका पूर्व विद्यार्थी अटल कृष्ण पनि एक सदस्य थिए। सहायक वैज्ञानिकका रूपमा कार्यरत अटल कृष्णले आफ्नो म्याट्रिकको परीक्षा विद्या भारती अधीनस्थ शिशु विद्या मन्दिर, केन्दुझारगढ़बाट दिएका थिए। पछि, उनले कलिगं भारती आबासिक स्कूलबाट आफ्नो माध्यमिक पढाई पूरा गरेर आईआईएसटी, केरलबाट भौतिक विज्ञानमा बी.टेक पूरा गरे। उनी २८ अक्टोबर, २०१२ मा एक वैज्ञानिकका रूपमा इसरोमा सामेल भए। अटल कृष्णले पहिले पनि चन्द्रयान, मंगलयान, अन्तरिक्ष यान, उपग्रहको निर्माणमा योगदान पुऱ्याइसकेको बताइएको छ।











