२४ अगस्तः युनाइटेड वर्ल्ड रेसलिंग फेडरेशन (यूडब्ल्यूडब्ल्यू)-ले समयमा चुनाउ नगराएको मामिलामा भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-लाई निलम्बित गरेको छ। यसैकारण भारतीय पहलवानहरूले आउँदो वर्ल्ड च्याम्पियनशीपमा भारतीय ध्वजको साथ खेल्न सक्नेछैनन्। भारतीय पहलवानहरूले १६ सेप्टेम्बरदेखि शुरु हुने वर्ल्ड कुश्ती च्याम्पियनशीपमा तटस्थ खेलाड़ीको रूपमा हिस्सा लिनेछन्। वर्ल्ड च्याम्पियनशीप आउँदो साल हुने पेरिस ओलम्पिकको निम्ति क्वालीफाईंग प्रतियोगिता पनि हो। भुपेन्द्र सिंह बाजवाको अगुवाईमा रहने तदर्थ समितिलाई ४५ दिनभित्र चुनाउ गराउने समयसीमा दिइएको थियो तर उनीहरू त्यस आदेशलाई पालन गर्न व्यर्थ भए। भारतीय ओलम्पिक समिति (आईओए)-ले कुश्ती खेलको कामकाज हेर्नको निम्ति २७ अप्रेलमा तदर्थ समितिको गठन गरेको थियो।
यूडब्ल्यूडब्ल्यू-ले २८ अप्रेलमा नै चुनाउ गराउने समयसीमालाई पालन नगरिए भारतीय कुश्ती महासंघलाई निलम्बित गर्न सकिने चेताउनी दिएको थियो। आईओए सूत्रले बताएअनुसार, यूडब्ल्यूडब्ल्यू-ले बुधवार राति नै तदर्थ समितिलाई कार्यकारिणी चुनाउ नगराएको हुनाले डब्ल्यूएफआई-लाई निलम्बित गरिएको जानकारी दियो। डब्ल्यूएफआई-को चुनाउ पहिला ७ मईमा हुनु थियो तर खेल मन्त्रालयले यस प्रक्रियालाई अमान्य घोषित गरेको थियो। धेरै असन्तुष्ट र असम्बद्ध राज्य एकाईहरूले मतदानमा भाग लिने अधिकार हासिल गर्नको निम्ति अदालतको दैलो ढकढकाएपछि चुनाउ धेरैपल्ट स्थगित गरियो।