गेजिङः गेजिङ जिल्लाबाट दादुरा रुबेला जस्ता रोगहरूलाई उन्मूलन गराउने उद्देश्यले आज जिल्ला टास्क फोर्सलाई लिएर गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा एक सभा सम्पन्न भयो। राब्देञ्जीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा जिल्लामा दादुरा र रुबेला उन्मुलनका लागि रोड म्यापको बारेमा छलफल भएको थियो।
उक्त अवसरमा भ्याक्सिनेशन कभरेजको स्थिति र २१ अगस्त २०२३ सम्म रेकर्ड गरिएका विषयबारेमा विभिन्न सूचकहरूमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराइयो। मुख्य कार्य योजनाहरू र समस्याहरूलाई राम्रोसँग सम्हाल्न र न्यूनीकरणका लागि मुख्य कार्य बिन्दुहरू पालन गरिनुपर्ने बताइयो।
सभामा यी विषयहरूमाथि खुल्लारूपमा छलफल गरेपछि जिल्लापाल योङदाले यस कार्यलाई कार्यान्वयन गर्नको निम्ति सम्वन्धित विभागका अधिकारी साथै ग्रामीण विकास विभागको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्। यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्नको निम्ति स्थानीय पञ्चायत सदस्यहरूलाई अधिक मात्रमा संलग्न गराएर धेरै भन्दा धेरै नानीहरूलाई खोप लगाउनु पर्ने सुझाउ दिइन्। सभामा जीएनपीका अध्यक्ष देवेन्द्र शर्मा, अतिरिक्त जिल्लापाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।