३२औँ नेपाली भाषा मान्यता दिवस पालन

IMG-20230823-WA0371.jpg

गान्तोकः नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङमा ३२औँ नेपाली भाषा मान्यता दिवस पालन गरियो। नेपाली विभागको तत्परतामा बर्सेनी नेपाली भाषा मान्यता दिवस पालन गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभ्य स्वरूपमा यो कार्यक्रम गरियो। समारोहमा पूर्व लोकसभा सांसद तथा भाषा-सग्रामी दिलकुमारी भण्डारी मुख्य अतिथि रहेकी थिइन्। आफ्नो सम्बोधनमा उनले नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउने क्रममा महत्त्वपूर्ण भूमिका निर्वहन गर्ने सम्पूर्ण व्यक्तित्वलाई स्मरण गर्दै कुनै एक-दुईवटा संस्था र व्यक्तिहरूको मात्र यसमा योगदान नरहेर भारतभरिका नेपालीहरूको दृढ़-विश्वास र सङ्कल्पकै फलस्वरूप भाषाले मान्यता पाउन सकेको ऐतिहासिक कैरण प्रस्तुत गरिन्। उनले नेपाली भाषाले संवैधानिक मान्यता पाउनु एउटा ऐतिहासिक उपलब्धि स्विकार्नु पर्ने अनि मान्यतापछि हामीले आफ्नो उत्तरदायित्व कत्तिको निष्ठापूर्वक निर्वहन गरेका छौं त्यसबारे आत्मालोचना गर्नुपर्ने समय भएको बताइन्। ’हामी भारतीय भएकै कारण नेपाली भाषाले मान्यता पाएको हो, नेपाली भाषाले मान्यता पाएपछि हामी भारतीय भएका होइनौ र कतिपय भुल बुझाइ भएको छ।“ भन्दै कतिपय सैशयहरूको निराकरण गरी सत्य तथ्यका आधारमा सङ्कथन निर्माण गर्नु आवश्यक रहेको विषय उल्लेख गरिन्। नयाँ पुस्तामा भाषा विकासको पक्षमा र प्रयोग क्षेत्रमा नेपाली भाषाको पहुँच बढाउन ठुलो जिम्मेवारी आएको बताइन्।

कार्यक्रममा महाविद्यालयका प्राचार्य डा. डी पुरोहित विशिष्ट अतिथि रहेका थिए। आफ्नो सम्बोधनमा पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीलाई सम्झना गर्दै उनकै प्रेरणाले गर्दा सिक्किममा बसी काम गर्न उत्प्रेरित गरेको बताए। आफूले नेपाली भाषा सिक्दा ठुलो उपलब्धि प्राप्त गरेको सुखद अनुभव पनि साझा गर्दै विद्यार्थीले जुनै विषय लिएर पढिरहे तापनि नेपाली भाषामा आफ्ना विचारहरू साझा गर्ने सुझाउ दिए। समारोहमा इतिहास विभागका सहायक प्राध्यापक डा राजेन उपाध्यायले ’सिक्किममा नेपाली भाषाको प्रयोग प्रचलनको इतिहास’ विषयक वार्ता प्रस्तुत गर्दै सिक्किममा नेपाली भाषाको प्रयोग-प्रचलनको लामो इतिहास रहेको तथ्य प्रस्तुत गरे। उनले प्रस्तुत गरेका तथ्यअनुसार जनबोलीको दीर्घ परम्परा रहे तापनि आधिकारिक रूपमा राज्य सञ्चालनका सन्दर्भमा अठाह्रौं शताब्दीदेखि नेपाली भाषाको प्रयोग भएको सूचना साझा गरे। कार्यक्रमको औचित्य अवलोकन प्रस्तुत गर्दै नेपाली विभागका विभागाध्यक्ष डा उदय छेत्रीले नेपाली विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूले श्रीमती दिलकुमारी भण्डारी जस्तो इतिहास बनाउन सक्ने व्यक्तित्वसँगको सान्निध्यले जहिल्यै उत्प्रेरित हुनुपर्ने बताए। नेपाली भाषालाई आजीविकाको भाषा हो भनी विश्वास राख्नुपर्ने आग्रह पनि उनले गरे। यस अवसरमा महाविद्यालय स्तरीय अन्तरविभागीय कविता प्रतियोगिता पनि सम्पन्न भयो, जसमा नेपाली विभाग की पुजा छेत्री, भौतिकी विभागकी अर्चना राई अनि वनस्पति विभागकी सीता राई क्रमैले पहिलो, दोस्रो र तेस्रो भए। यसै गरी उत्कृष्ट पारम्परिक पहिरनमा अरबिन भुजेल र अञ्जलि शर्मा विजयी भए। कार्यक्रममा विद्यार्थीले लोकनृत्य, लोकदोहोरी पनि प्रस्तुत गरे। महाविद्यालयले दोसल्ला, स्मृति चिह्न अनि अभिनन्दन पत्रद्वारा दिलकुमारी भण्डारीलाई अभिनन्दन जनायो। कार्यक्रममा विभिन्न विभागका विभागाध्यक्ष, प्राध्यापकगण र विद्यार्थीहरूको समुपस्थिति रहेको थियो। कार्यक्रमलाई डा टेकबहादुर छेत्रीले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement