गान्तोक। गत १६ मईको दिन सिक्किमको ४७औं प्रजातान्त्रिक वर्षगाँठको उपलक्ष्यमा दक्षिण जिल्लास्थित बिक्मत नजिक खोर्लोङमा ताङ्जी रातेपानी जिल्ला पञ्चायत क्षेत्रीय समष्टि, दक्षिण जिल्ला पञ्चायतको प्रायोजनमा एवं बिक्मत, खोर्लोङमा गत २०२०-मा गठित कला साहित्य संस्थानले राज्य स्तरीय साहित्य प्रतिभा पुरस्कार तथा उत्कृष्ट आवरण सिर्जना पुरस्कार लगायत सम्मान सम्मेलन भव्य रूपमा सम्पन्न गरियो। साहित्यकार, नाटककार, सिनेकलाकार तथा सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरेको सभाध्यक्षता एवं दक्षिण जिल्ला अध्यक्ष छिरिङ ड्याम भोटियाको प्रमुख आतिथ्य एवं प्रगतिशील चिन्तक विजयकुमार सुब्बाको पर्यवेक्षतामा सम्पन्न कार्यक्रममा १८ जना साहित्यकार एवं सम्पादकगणका पुस्तकहरू लोकार्पित गरिए।
कार्यक्रमको प्रमुख आकर्षण पश्चिम बङ्गालको जलपाइगढीस्थित बाख्राकोट निवासी अशोक विश्व लोहारलाई प्रदान गरिएको प्रतिभा पुरस्कार थियो। उनलाई उनको नयाँ कृति ‘तिमी सपना म विपना’-लाई प्राप्त भएको छ। यसी गरै बबिता खालिङलाई उनको उत्कृष्ट आवरण सिर्जनाका निम्ति पुरस्कृत गरिएको छ। यस विशेष अवसरमा सिक्किमका सम्पूर्ण स्थानहरूबाट उपस्थित रहेका सर्जकहरूमाझ पद्मश्री केदार गुरुङको गरिमामय आसन ग्रहण रहेको थियो। राज्य स्तरीय रूपमा गरिएको समारोहमा लगभग ८० जना स्रष्ठाहरूलाई उनीहरूको कार्य र योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने प्रगतिशील विद्यार्थी साहित्य सङ्घका विद्यार्थीहरू क्रमैले श्रद्धाञ्जली दाहाल, भावना शर्मा, राधिका तामाङलगायत अन्य स्रष्ठाहरू पनि सम्मानित भएका थिए।
यस विशेष समारोहमा दक्षिण, पश्चिम सिक्किम लगायत पूर्वका धेरै स्रष्ठाहरूको पनि मर्यादामय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कला साहित्य संस्थानका अध्यक्ष गोकुल राईले ‘कार्यक्रम फ्यूजन जस्तो देखिए तापनि हामी वरिष्ठहरूको गरिमामय उपस्थितिमा नयाँ पुस्ताका सर्जकहरूलाई सम्मान र सम्वर्द्धन गर्दै नेपाली साहित्यको भविष्य निर्माण गर्ने क्रममा छौं’ भन्दै कार्यक्रम गर्नुका अन्य औचित्यहरूको सन्दर्भलाई पनि उठान गरे।
यसै क्रममा अध्यक्षीय सम्बोधनमा चुनिलाल घिमिरेले कार्यक्रमका विभिन्न पक्षहरूमाथि टीका टिप्पणीका साथ सिक्किमको इतिहास १६३२-देखि यतामात्र अध्ययन गर्न पाइएको कुरालाई उठान गर्दै त्यसभन्दा अघिको इतिहासको खोज गर्ने जिम्मेवारी सर्जकवर्गको रहेको उनको स्पष्ट भनाइ रहेको थियो।
कार्यक्रमलाई पर्यवेक्षीय सम्बोधन गर्दै विजयकुमार सुब्बाले बिक्मतले क्रमागत रूपमा नयाँ इतिहास निर्माण गर्नलागेको कुरालाई उठान गर्दै इतिहासको नवखोजका निम्ति नयाँ पुस्ताको अवतरण जरुरी रहेको अनि त्यो अवतरण सिक्किममा हुनथालेको उनले ठोकुवा गरे। कार्यक्रमलाई साहित्य प्रतिभा पुरस्कार विजेता अशोक विश्व, उत्कृष्ट आवरण सिर्जना पुरस्कार प्रापक बविता खालिङ लगायत संस्थानका मूल सचिव धन ‘नीरव’ प्रधान, संस्थानकै उपाध्यक्ष सरमान सुब्बा आदिले सम्बोधन गरेका थिए। कार्यक्रममा संस्थानलाई नेपथ्यबाट पूर्ण रूपमा सहयोग प्रदान गर्ने अदेखा सर्जकहरूलाई पनि मायाको चिनो प्रदानका सम्मान गरियो।