गोर्खे नाबालिगको हत्याको सांसद राजु विष्टद्वारा भर्त्सना अनि न्यायको मांग

IMG-20230822-WA0279.jpg

सिलगढी: सिलगढ़ीको मतिगढ़ा पुलिस स्टेशन अन्तर्गत रवीन्द्रपल्ली नजिकैको इलाकामा एक बालिकाको निर्मम हत्यामाथि म, दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका हाम्रा सबै जनतासंगै आफ्नो दुःख र पूर्ण आक्रोश साझा गर्दैछु भनी दार्जिलिङको भाजपा सांसद एंव भाजपाको राष्ट्रिय प्रवक्ता राजु विष्टले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले विज्ञप्तिमा भनेका छन् -‘नाबालिग गोर्खा छोरीको निर्मम हत्याले हाम्रो सम्पूर्ण क्षेत्रलाई स्तब्ध र शोक सन्तप्त बनाएको छ अनि हामी उनलाई न्याय मिलोस् भनी माग गर्न एकजुट छौँ।’
उनले भने, ‘हामी पीड़ित बालिकाको परिवार र प्रियजनप्रति गहिरो समवेदना अनि शोक प्रकट गर्दछौँ। उनीहरूले महसूस गरिरहेको पीड़ालाई शब्दहरूमा वर्णन गर्न सकिँदैन। तर यस अकल्पनीय क्षतिको समयमा हाम्रो हृदय उनीहरूसँग छ।’
सांसद राजु विष्टले भने, “विगत १२ वर्षदेखि एक महिला मुख्यमन्त्रीद्वारा शासित पश्चिम बङ्गाल आज महिलाहरूका लागि सबैभन्दा असुरक्षित र खतरनाक राज्य बनेको छ। टीएमसीले हाम्रो क्षेत्रमा अवैध घुसपैठीहरु र आपराधिक तत्वहरूलाई सक्रिय समर्थन दिईरहेको परिणामस्वरूप हाम्रो क्षेत्रभरि अपराधका घटनाहरूमा वृद्धि भएर गइरहेको छ। टीएमसी अधीन “सिलगढ़ी करिडोर” महिला तथा बालबालिकाविरुद्ध अपराध, मानव बेचबिखन, लागुऔषध ओसारपसार, तस्करी, हातहतियार ओसारपसार र आईएसआईका कार्यकर्ता र सञ्जालको केन्द्र बनेको छ । हाम्रो क्षेत्रमा युवाहरूमाझ लागुऔषध र लागूपदार्थको बढ्दो प्रयोग अनि सहज उपलब्धता सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। हाम्रा विद्यालय, कलेज र समुदायमा लागूपदार्थको ओइरो लगाइँदै छ भने, प्रहरी र प्रशासनले आँखा चिम्लेका छन्। मुख्यमन्त्री स्वयंको सोझो नियन्त्रणमा रहेको पश्चिम बङ्गालको गृह विभागको असफलता स्पष्ट देखिन्छ, अनि मलाई डर छ कि यदि स्थितिलाई सुधार्न तत्काल पाइलो चालिएन भने उत्तर बङ्गालमा बस्ने मानिसहरूले यस्ता हिंसा र अपराधहरू भोग्न बाध्य हुनु पर्नेछ।’
सांसद विष्टले अघि भने,’भारत सरकारले हालै भारतीय दण्ड प्रणालीमा आमूल परिवर्तन गर्ने उद्देश्यले एउटा विधेयक प्रस्तुत गरेको छ जसले नाबालिग र महिलाविरुद्ध अपराध गर्नेहरूलाई कड़ा कानून र दण्डको प्रावधान गर्दछ। हाम्रा सबै बालबालिकालाई निर्विघ्न, सुरक्षित र हिंसाको खतराबाट मुक्त वातावरण सिर्जना गर्नु हाम्रो सामूहिक दायित्व हो। यस घटनाले यस्ता दुःखद घटनाहरू फेरि नदोहोरियोस् भन्ना खातिर समाजको रूपमा हामी एकजुट हुनैपर्छ भन्ने गम्भीर सम्झना गराउँछ। म हाम्रा स्थानीय कानून कार्यान्वयन एजेन्सीहरूलाई पूर्ण र पारदर्शी अनुसन्धान गर्न आह्वान गर्दछु, ताकि अपराधीहरूलाई चाँड़ोभन्दा चाँड़ो सजाय दिलाउने काम सुनिश्चित गर्न सकियोस्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement