खरसाङ: दार्जिलिङका पहाडी बासिन्दाहरूले शरणार्थी नभई छुट्टै राज्यको माग गर्दै आन्दोलन गरेका थिए। पाँच दशमलव जमीनको स्वामित्व पर्जापट्टा दिएर हामीलाई पूर्णरूपमा शरणार्थी बनाउने षड्यन्त्र भइरहेको छ भनी सामी लाखाङ गुम्बा खरसाङका बौध्द धर्मगुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। पत्रकारहरुसँग कुरा गर्दै उनले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) बनेपछि पहाडी बासिन्दालाई जातजातिमा विभाजन गरेर विभिन्न बोर्ड बनाउने काम भएको बताए। त्यसपछि जातीय विकास बोर्डमार्फत् घर बनाएर नीलो रङको फलामको पाना लगाएर स्याटेलाइटमार्फत् गन्ती गरी शरणार्थीको घर देखाइयो तर त्यसतर्फ कसैले ध्यान दिएनन्। उनले दार्जिलिङ पहाडी क्षेत्रको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पर्जा पट्टाबारे जनतालाई विभिन्न तरिकाले बुझाउन खोजेको तर त्यसो गरेर जनतामाथि अन्याय भइरहेको बताए। उनले भने, जनतालाई मूर्ख बनाएर शरणार्थी बनाउने षड्यन्त्र भइरहेको छ। पाँच दशमलव जमीनको स्वामित्वमा पर्जा पट्टा लिनु भनेको शरणार्थी भन्नु हो। यस्ता गतिविधिको कडा विरोध गर्दै उनले धार्मिक नेता भएकाले पर्जापट्टालाई लिएर जनतामाथि हुने षड्यन्त्र कदापि सहन नहुने बताए। सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले साँच्चै पर्जापट्टा दिएर जनतालाई न्याय दिन चाहेमा पश्चिम बंगाल राज्य सरकारसँग भेटेर पाँच दशमलव जग्गाको स्वामित्व सिधै दर्ता गराउनुको सट्टामा उनले चेतावनी दिएका छन्। सही पर्जा पट्टा दिनुहोस् यसले मानिसहरूलाई शरणार्थी बन्नबाट बचाउनेछ र उनीहरूले जग्गाको स्वामित्व पनि पाउनेछन्। बौध्द धर्म गुरू पेम्बा रिम्पोर्छेले पर्जा पट्टाको विकल्प केवल छुट्टै राज्य मात्र हो भनी बताएका छन्।