गान्तोकः सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज जिल्ला टास्क फोर्सलाई लिएर खोपमाथि भर्चुअलरूपमा बैठक गरे। उक्त बैठकमा सीएमओ विकास प्रधान, डीआरसीएचओ पत्रिका राई लगायत विभिन्न स्वास्थ्य केन्द्रका चिकित्सहरूले पनि अंशग्रहण गरेका थिए। बैठकलाई सम्बोधन गर्ने क्रममा जिल्लापालले सर्वप्रथम सोरेङ जिल्लामा खोपको अवस्थाको समीक्षा गरेका थिए। यसका साथै जिल्लामा शतप्रतिशत खोप पुऱ्याउने कार्ययोजनाको पनि अवलोकन गरे। नानीहरूलाई लगाइने खोपको शंका र कलंकसँग सम्बन्धित छलफलमा, उनले खोप र खोपका लागि सूचना, शिक्षा र सञ्चार (आईईसी) मा वर्तमान कमजोर दृष्टिकोण प्रमुख कारणहरू मध्ये एक रहेको प्रकाश पारे।
तसर्थ खोप अभियानलाई सफल बनाउन सम्बन्धित सरोकारवालासँगको समन्वयमा सहकार्य र नवीन दृष्टिकोण अपनाउन उनले सुझाव दिए। उनले अधिकारीहरूलाई एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने र खोपकोबारेमा चेतना जगाउनका लागि अभिभावक-शिक्षक बैठक, ग्राम सभा मार्फत पञ्चायतको भूमिका र स्थानीय स्वास्थ्यकर्मीहरूको मार्फत विद्यालयहरूबाट परिचालन गर्न निर्देशन दिए। जिल्लापाल ठटालले जिल्लामा इन्टेन्सिफाइड मिशन इन्द्रधनुषको कार्यान्वयन स्थितिको पनि मूल्याङ्कन गर्दै पूर्ण खोप कवरेजको लक्ष्य हासिल गर्न रणनीति बनाउन निर्देशन दिए। यसअघि पश्चिम जिल्लामा दादुरा र रुबेलाका रोगबारेमा जानकारी गराउँदै उनले विभागबाट जिल्लाको स्थितिबारे प्रतिवेदन चढाउनु पर्ने माग गरे। उनले आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत डेल्टा ऱ्याङकिङ अनुसार च्याम्पियन अफ चेन्ज ड्यासबोर्डमा सोरेङको अघिल्लो कार्यसम्पादनबारे पनि जानकारी गराए, जसमा जिल्लाले विशेषगरी स्वास्थ्य क्षेत्रमा पहिलो स्थान हासिल गरेको भए पनि हालको अवस्थाबारे पनि जानकारी गराए।