गान्तोक: सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ)-ले आफ्नो जनसम्पर्क अभियानलाई तीव्रता दिएको छ। राज्यको पुरानो गरिमा फर्काइ ल्याउन र सिक्किमको माटो र अस्तित्व जोगाउन एसडीएफ-को सरकार आवश्यक रहेको बदाउँदै जनताका घर-दैलोमा जाने अभियानलाई पार्टीका विभिन्न शाखाहरूले गति दिएको पार्टीले जनाएको छ।

यसै उद्देश्यले एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारिणी समितिको पहलमा हिजोबाट जनसम्पर्क अभियान शुरु गरिएको पार्टीका पदाधिकारीहरूले जानकारी दिएका छन्। प्राप्त जानकारीअनुसार हिजो बेन नाप्रिक जीपीयू-का जनताका घर- दैलोमा पुगेर पार्टीका नेता-कार्यकर्ताहरूले उनीहरूसँग भलाकुसारी गरेका थिए भने आज तिमी र तार्कु जीपीयू-को भ्रमण गर्दै पार्टीको नीति र उद्देश्यबारे जानकारी गराएका छन्। पार्टीका क्षेत्रीय नेताहरूले जनतालाई एसडीएफ-को सरकार गठनको आवश्यकताबारे अवगत गराएको बताइएको छ। अभियानअन्तर्गत पार्टी कार्यकर्ताहरूले सिक्किम र सिक्किमेको भविष्य बचाउन सबै सचेत बन्नुपर्ने मानिसहरूलाई आह्वान गरेका थिए।

एसडीएफअनुसार, यस अभियानअन्तर्गत चारवटा टोली सञ्चालनमा रहेको छ भने अभियानमा जम्मा ४० जना कार्यकर्ताको सहभागिता रहेको छ। उनीहरू गाउँ-गाँउ र टोल-टोलमा पुगेर आफ्नो पार्टीको उद्देश्य र नीतिहरूबारे जनतालाई अवगत गराइरहेको एसडीएफले जनाएको छ।










