गान्तोकः प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत माइक्रो इरिगेसन सिस्टममाथि जागरूक एवम् वितरण कार्यक्रम आयोजना गरियो। कृषि विभागद्वारा आयोजना गरिएको कार्यक्रम तिनिक चिसोपानीको ग्राम प्रशासन केन्द्रमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा शहरी विकास एवम् आवास विभागका अध्यक्ष केबी राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। सो अवसरमा विभागकी संयुक्त निर्देशक निर्मला मोक्तानले प्रधानमन्त्री कृषि सिँचाई योजनाबारेमा विस्तृतरूपमा रिपोर्ट प्रस्तुत गरिन्।
आफ्नो सम्बोधनमा मुख्य अतिथि केबी राईले राज्य सरकारले कृषि र सिँचाई क्षेत्रमा शुरू गरेका पहलहरूबारे अवगत गराए। उनले पानीको समुचित सदुपयोगले कृषि उत्पादनको वृद्धिमा थप टेवा पुग्ने बताए। उनले कृषि क्षेत्रको सर्वाङ्गीण विकासका लागि पानीको अपव्यय घटाउन र पानी बचत गर्ने विभिन्न प्रविधि अपनाउन सबैलाई आग्रह गरे। कार्यक्रममा एक सय जना लाभार्थीहरूलाई १ हजार लिटरको पानी ट्याङ्की वितरण गरियो।










